लिस्बन । पोर्चुगल तथा साउदी अरबको क्लब अल-नासरका कप्तान क्रिष्टियानो रोनाल्डोले भविष्यमा आफू प्रशिक्षक नभई अध्यक्ष बन्ने बताएका छन् । दुबईमा भएको ग्लोब सकर अवार्ड-२०२४ को समारोहलाई सम्बोधन गर्दै रोनाल्डोले आफूमा कहिल्यै प्रशिक्षक बन्ने इच्छा नभएको बताए । ‘म कहिल्यै प्रशिक्षक बन्नेछैन । सोच्छु कि म अध्यक्ष बन्नेछु, हुनसक्छ क्बलको मालिक पनि,’ उनले भनेका छन् ।
रोनाल्डोले आफूले व्यावसायिक फुटबल खेलाडीबाट सन्न्यास लिएपछि फुटबल क्लब खरिद गर्ने पनि बताए । रोनाल्डोले अन्य लिगभन्दा प्रिमियर लिग फरक खालको लिग भएको पनि बताए । उनले म्यानचेस्टर युनाइटेडका विषयमा पनि बोलेका छन् । खराब लयबाट ग्रुज्रिरहेको म्यानचेस्टर युनाइटेड र त्यसका प्रशिक्षकबारे रोनाल्डोले प्रतिक्रिया दिएका हुन् ।
‘रुबेन अमोरिमले पोर्चुगलमा मेरो क्लब स्पोर्टिङ लिस्वनमा राम्रो काम गरे । तर, प्रिमियर लिग फरक लिग हो, यो संसारको सबैभन्दा प्रतिस्पर्धी लिग हो,’ रोनाल्डोले भनेका छन् ।
रोनाल्डोले आफूले म्यानचेस्टर युनाइटेडलाई साँच्चिकै माया गर्ने बताए । ‘म साँच्चिकै म्यानचेस्टर युनाइटेडलाई माया गर्छु । म तिनीहरूका लागि सबैभन्दा राम्रो चाहन्छु,’ उनले भनेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा प्रशिक्षकको समस्या नभई फरक समस्या रहेको बताए । ‘म्यानचेस्टरमा समस्या प्रशिक्षकको होइन, फरक छ,’ उनले भनेका छन् ।
रोनाल्डोले साउदी प्रो लिग फ्रान्सको लिग वानभन्दा राम्रो भएको पनि दाबी गरेका छन् । शुक्रबार राति दुबईमा आयोजित ग्लोब सकर अवार्ड-२०२४ मा रोनाल्डो दुई अवार्ड जितेका थिए । साउदी क्लब अल-नासरको कप्तानसमेत रहेका रोनाल्डोले उत्कृष्ट मध्यपूर्व खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।
FOUNDER/CHIEF EDITOR :