विश्वभरि डिसेम्बर ३१ अर्थात् वर्षको अन्तिम दिनको राति आतसबाजी, गीतसङ्गीत र खानपिन गरेर अनि केक काटेर नयाँ वर्षको स्वागत गर्ने चलन छ।
तर के ज्यानुअरी १ लाई वर्षको पहिलो दिन र नयाँ वर्षको आरम्भ किन मानिन्छ भन्नेबारे तपाईँलाई थाहा छ?
यो दुई शताब्दीभन्दा अघिको कुरा हो जतिबेला जूलिअस सीजरले इसापूर्व ४५ मा छुट्टै 'जूलिअन क्यालन्डर' सुरु गरे।
त्यो पात्रो पृथ्वीले सूर्यलाई परिक्रमा गर्न कति समय लाग्छ भन्ने सिद्धान्तमा आधारित थियो।
कील यूनिभर्सिटी अब्जर्भेटरीका निर्देशक डा ज्याको भ्यान लुन भन्छन्, "३६५ दिनमा पृथ्वीले सूर्यको एक पटक परिक्रमा गर्छ।"
तर यो ठ्याक्कै ३६५ दिन भने होइन।
त्यसैले हामीले समय मिलान गर्न चार वर्षमा एक पटक एक दिनलाई "लीप डे" भनेर थप्नुपर्ने हुन्छ।
नयाँ पात्रो सुरु गर्न लाग्दा जूलिअस सीजरले वर्षको पहिलो दिन कुन मान्ने भन्ने निर्णय गर्नुपर्ने थियो।
रोमनहरूका लागि ज्यानुअरी असाध्यै महत्त्वपूर्ण थियो किनभने त्यो महिना जेनस नामक देवताप्रति सम्मान प्रकट गर्न राखिएको थियो।
बर्मिङ्गम विश्वविद्यालयमा प्राध्यापन गर्ने डायना स्पेन्सर भन्छिन्, "उनी भूतकाल र भविष्यकालसँग जोडिएका देवता हुन्। त्यसैले कसैले वर्षको कुनै दिन रोज्नुपरेमा यो महिना नै त्यस्तो क्षण हो जसलाई नयाँ कुरा थाल्ने समयका रूपमा लिने गरिन्छ।
"त्यसैले यसैलाई रोज्नु स्वाभाविक भयो।"
यही बेला 'विन्टर सोल्स्टिस' अर्थात् हिउँदमा पर्ने वर्षभरिकै सबैभन्दा छोटो दिनपछि युरोपमा दिनहरू लामा हुन थाल्छन्।
स्पेन्सर भन्छिन्, "रोमका लागि यसले शक्तिशाली अर्थ बोकेको छ। किनभने यो सबभन्दा छोटो दिनको पट्यारलाग्दो बेलापछिको समय थियो। सबभन्दा छोटो दिनमा संसार अँध्यारो थियो, कठ्याङ्ग्रिएको थियो र केही पनि उब्जाउ भइरहेको थिएन। खेतबारीमा केही काम गर्न सकिन्नथ्यो। यो कालखण्डको समीक्षा गर्ने समय पनि हो।"
रोमनहरू शक्तिशाली बन्दै जाँदा र उनीहरूको साम्राज्य संसारभरि फेलँदै जाँदा उनीहरूको पात्रो पनि फैलियो।
तर मध्यकालतिर इसाई धर्मको प्रभाव बढ्दै गयो र ज्यानुअरी १ लाई धर्म नमान्नेहरूको दिन भनेर पनि लिन थालियो।
कैयौँ इसाई मुलुकहरूले मार्च २५ लाई नयाँ वर्ष आरम्भ हुने दिनका रूपमा मनाउन थाले।
मार्च २५ का दिन देवदूत ग्याब्रिअल मेरीका अगाडि उपस्थित भएका थिए।
"जीजस क्राइस्ट जन्मेका बेला क्रिस्मस मनाइन्छ तर नयाँ ईश्वरको जन्म हुने घोषणा भएको दिन फरक हो जुन दिन मेरीलाई उनले ईश्वरको एक नयाँ अवतारलाई जन्म दिँदै छन् भनिएको थियो,” प्राध्यापक स्पेन्सर भन्छिन्।
“एक प्रकारले भन्दा जुन दिनदेखि क्राइस्टको कथा सुरु हुन्छ त्यस दिनलाई नै नयाँ वर्षको थालनी मान्नु कैयौँ दृष्टिकोणमा ठिक मानियो।”
सोह्रौँ शताब्दीमा पोप ग्रेगोरी तेह्रौँले ग्रेगोरिअन क्यालन्डर सुरु गरे। अनि त्यसमा क्याथलिक देशहरूमा ज्यानुअरी १ लाई नै नयाँ वर्षका रूपमा पुनर्स्थापित गरियो।
तर इङ्ग्ल्यानड प्रोटेस्टन्ट राष्ट्र भएकाले सन् १७५२ सम्म मार्च २५ लाई नै वर्षको पहिलो दिन मानिन्थ्यो।
सन् १७५२ मा ब्रिटिश संसद्ले वर्षको पहिलो दिनको विषयमा बाँकी युरोपसँग समान हुने निर्णय गर्यो।
अहिले धेरै देशहरूले त्यही ग्रेगोरिअन क्यालन्डरअनुसार नयाँ वर्ष मनाउँछन्।
त्यसै कारण संसारभरि ज्यानुअरी १ का दिनलाई वर्षको पहिलो दिन मानिन्छ।
बिबिसी ।
FOUNDER/CHIEF EDITOR :