स्पेनका लागि नेपाली राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस
www.europenepalikhabar.com २०८१ माघ ९ गते बिहीबार, 22-01-2025


पोर्चुगल । स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले यहाँको विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुभएको छ ।

राजदूतको जिम्मेवारी सम्हाल्न सोमबार स्पेन आइपुग्नुभएका उहाँले मङ्गलबार महानिर्देशक कोउससमक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुभएको हो । शिष्टाचार भेटका अवसरमा महानिर्देशक कोउसले राजदूत नेपाललाई बधाई दिनुका साथै स्वागत गर्नुभएको थियो । यसैबीच राजदूत नेपालले म्याड्रिडस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । 

यसअघि उहाँलाई म्याड्रिडस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका कार्यवाहक राजदूत यज्ञराज पौड्याल, सहचारी विपिन चन्दलगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो । नेपालले स्पेनसँगै माल्टाका लागि गैरआवासीय राजदूतको जिम्मेवारीसमेत ग्रहण गर्नुभएको छ । पछिल्लो समय माल्टालाई स्पेनस्थित नेपाली दूतावासलाई जिम्मेवारी तोकिएको छ । माल्टामा नेपाली दूतावास नरहेका कारण नेपाललाई गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते नेपाललाई स्पेनका लागि राजदूतमा नियुक्त गर्नुभएको थियो । यसअघि उहाँ पोर्चुगलका लागि राजदूत नियुक्त हुनुभएको भए पनि तत्कालीन सरकारले पोर्चुगल नआउँदै फिर्ता बोलाएको थियो । सरकारले उहाँलाई गत साउनमा स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । 

कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आउनुभएका नेपालले स्वदेशी तथा विदेशी सङ्घसंस्थाहरूका विभिन्न भूमिकामा रहेर काम गरिसक्नुभएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित