पोर्चुगल । बाइडेन प्रशासनको ४ बर्षमा अमेरिकामा १३२ जना नेपालीहरुलाई अमेरिकी अध्यागमन आइसले पक्राउ गरेको र १३० जनालाई डिपोर्ट गरेको तथ्यांक सार्वजनिक भएको छ । त्योबाहेक सिमाक्षेत्रमा सीबीपीले पक्राउ गरेर आइसको हिराशतमा पठाएका नेपालीहरुको संख्या २७ सयभन्दा बढी रहेको थियो । बिहिबार आइसले सार्वजनिक गरेको यो रिपोर्ट अनुशार ४ बर्षको अवधिमा आइसको हिराशतमा २८९१ जना नेपालीहरु परेका थिए ।
आइसले बाइडेन कार्यकालको पहिलो बर्ष आर्थिक बर्ष २०२१ मा ११, २०२२ मा ३०, २०२३ मा ५६ र २०२४ मा ३५ जना नेपालीहरुलाई अमेरिकाका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो । जसमध्ये २०२४ मा १० जना नेपालीहरु विभिन्न अपराधमा दोषी ठहरिएकाहरु थिए भने २०२३ मा पक्राउ परेकाहरुमा ११ जना विभिन्न अपराधमा दोषी ठहरिएकाहरु रहेको आइसले जनाएको छ ।
त्यस्तै विनाभिसा सिमा पार गर्ने क्रममा सीबीपी लगायतले पक्राउ गरेर आइसको हिराशतमा राखिएका र आइस आफैले अमेरिकाभित्र पक्राउ गरेका नेपालीहरु आर्थिक बर्ष २०२४ मा ७१० जना, २०२३ मा ८३५ जना, २०२२ मा ९६२ जना र २०२१ मा ३८४ जना रहेका थिए ।
पक्राउ पछि आइसले विमानमार्फत देशनिकाला गरेका नेपालीहरु आर्थिक बर्ष २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जना गरी कुल १३० जना रहेका थिए ।
बाइडनको कार्यकालमा लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । तर सबै नेपालीहरुलाई आइसको हिराशतमा पठाइएको थिएन । केबल झण्डै २८ सय नेपालीहरुलाई मात्र आइसको हिराशतमा पठाइएको थियो ।
अघिल्लो ट्रम्प प्रशासन अन्तर्गतको चार वर्षमा कुल १,८५० नेपालीहरु यसरी विना भिसा अमेरिका प्रवेश गरेका थिए । त्यसको तुलनामा बाइडेनकालमा विनाभिसा प्रवेश गर्नेहरुको संख्यामा झण्डै ५ गुणा बृद्धि भएको थियो । २०२३ को अक्टोबरबाट सुरु भएको र २०२४ को सेप्टेम्बरमा समाप्त भएको आर्थिक बर्ष २०२४ मा सबैभन्दा धेरै ३६९० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांकले देखाएको छ ।
आर्थिक बर्ष २०२५ सुरु भइसकेपछि गत अक्टोबरमा ४४० र नोभेम्बरमा ३ सय नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गतसाता सार्वजनिक गरेको थियो । आर्थिक बर्ष २०२३ मा ३१४० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । आर्थिक बर्ष २०२२ मा १४९० र २०२१ मा ४२० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।
FOUNDER/CHIEF EDITOR :