पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा गत आइतबार लिस्बनमा आयोजित सोनाम ल्होछार तथा मन्जुश्री सम्वत् २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।
पोर्चुगलको राजधानी लिस्बनस्थित टाइम आउट मार्केट क्याइसोड्रेमा आयोजित उक्त कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको समाजका अध्यक्ष गोपाल योन्जनले बताए।
कार्यक्रममा पोर्चुगलका विभिन्न समाज र संघसंस्थाका प्रतिनिधिहरु, तामाङ समुदायका र अन्य मानिसहरुको बृहत उपस्थिति रहेको थियो ।
साँस्कृतिक कार्यक्रम, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसंग सम्बन्धित विविध प्रस्तुतिहरूले कार्यक्रममा उल्लासमय बनेको सहभागीहरुको अनुभव छ । कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरूले तामाङ समुदायको योगदानको प्रशंसा गर्दै आपसी सद्भाव र एकताको सन्देश दिएका थिए ।
तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योन्जनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगर रहेका थिए । विशिष्ट अतिथिहरुमा गैरआवासीय नेपाली संघ युरोप उपसंयोजक रोबोट लिम्बू, पूर्व पर्यटनदुत तथा गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष रमेशकुमार गुरुङ, एनआरएनए आइसीसी सदस्यद्वय राजकुमार थापा र बिनु बस्नेत,एनआरएनए पोर्चुगल अध्यक्ष उमेशकुमार खड्का, पोर्चुगलस्थित विभिन्न सामाजिक, वैचारिक, जातीय क्षेत्रीय, जिल्लागत लगायत खेलाडी कलाकार, पत्रकार र पोर्चुगलमा रहेको विभिन्न संघसंस्थाका पदाधिकारीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
यस अवसरमा तामाङ परिकारहरूको विशेष स्वाद, परम्परागत पोशाक र लामा गुरुहरूको धार्मिक अनुष्ठानले सबैलाई सांस्कृतिक मूल्यमाथि पुन: स्मरण गराएको थियो । कार्यक्रममा सहभागी सबैले यो कार्यक्रमलाई ऐतिहासिक र सम्झनलायक मानेका छन् ।
कार्यक्रमलाई अध्यक्ष गोपाल योन्जनले समापन गराएका थिए भने कार्यक्रम संचालक संस्थाका महासचिव कुमार सिं बलले गरेका थिए।
उक्त कार्यक्रममा चर्चित गायक मिलन लामा सहित स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहेको थियो।
FOUNDER/CHIEF EDITOR :