११औँ महाधिवेशनमा ओलीले दिएका ११ सन्देश

११औँ महाधिवेशनमा ओलीले दिएका ११ सन्देश
www.europenepalikhabar.com २०८२ मंसीर २७ गते शनिबार, 13-12-2025


‘धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्मरी छ ।’

नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन गर्न शनिबार भक्तपुरको सल्लाघारी पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषणको सुरुवाती ‘पन्च’लाइन हो यो ।


सामान्यतया लिखित भाषण नगर्ने ओली बालकोटबाट लामो लिखित मन्तव्य बोकेर सल्लाघारी उत्रिएका थिए ।  तर, पार्टीको सबैभन्दा ठूलो फोरममा उभिएका ओलीले महाधिवेशनको विधि, प्रक्रिया र नेतृत्वबारे कम बोले ।

तीन महिनाअघि भएको जेन–जी आन्दोलनकै वरिपरि रहेर ओलीले लामो भाषण गरे, जहाँ आफूले गरेका काम, पाएका हन्डरसहित पार्टीले लिएका राजनीतिक लाइनका कुरा उनले बोले  । उनका यिनै बोलीलाई शिलापत्रले ११ सन्देशका रूपमा उतारेको छ ।

मानक बनाएको दाबी

ओलीले पार्टीलाई मानक बनाएको दाबी गरे । ‘राष्ट्रियता, पहरेदार, आन्दोलनको नायक पार्टी एमाले भएको दाबी गरे । सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायोनियर’ भन्दै उभ्याए । 

‘नेकपा (एमाले) अर्थात् सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’, जसका कारण आज ३८ लाख नागरिकले जीवनमा एउटा सहारा पाउनुभएको छ,’ ओलीले भनेका छन्, ‘नेकपा (एमाले) अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संवाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ ।

गाउँमुखी र जनसहभागितामूलक विकासको अग्रणी, ठूला पूर्वाधार निर्माणको पहलकर्ता, भूकम्पपछिको पुनर्निर्माणको सफल अभियन्ता, आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका लागि काम गरेको उनले दाबी गरे । उनले भने, 'यिनै विरासतले गर्दा आज पनि यो पार्टी जनताको मन मनमा छ, मुटु मुटुमा छ ।’

चुनौती सामना गर्दा प्रहार

ओलीले सल्लाघारीमा निकै जोड दिएर उठाएको अर्को विषय पार्टीमाथि निरन्तर प्रहारको हो । यस्तो प्रहार स्वदेशदेखि विदेशबाट समेत भइरहेको उनको ठम्याइ छ ।

‘हामी भन्छौँ– देशहरू भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ताबराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ? प्रहार हुन्छ,’ ओलीले भनेका छन्, ‘हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौँ । प्रहार हुन्छ ।’

शान्ति, विविधता, बहुलता मात्रै होइन, संविधान बनाउने अधिकारमाथिसमेत प्रहार भएको बताउन भुलेनन् ओली । अघिपछिको भन्दा फरक प्रस्तुतिको शैली लिएर आएका उनले भनेका छन्, ‘हामी सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।’

ओलीले भनेका छन्, ‘हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौं । सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्पजस्ता चुनौतीका बीचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ । कमजोरीलाई पनि महसुस गर्छौं । मुलुक बन्छ र बन्दै छ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरूलाई यो मन पर्दैन ।’

भारत र चीनको नाम नलिई ओलीले निरन्तर यस्तो प्रहार भोगिरहेको प्रस्ट्याए । 

‘भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैँ हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन,’ ओलीले भनेका छन्, ‘सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन । यही कारणले बारम्बार हाम्रो पार्टी प्रहारको निसानामा परेको छ । आखिर खयरको बोटमा कसले ढुंगा हान्छ र ? ढुंगाको चोट खाने त बाटोछेउको आँपको बोटले त हो नि ।’

जेन–जीका नाममा राज्यको मेरुदण्ड भाँच्ने योजना

'२३/२४ भदौको घटनालाई सम्झौँ न' भन्दै ओलीले त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै नभएको, बरु राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ? भन्दै प्रश्न गरे । 

‘भ्रममा पर्नै हुन्न– स्थिरताको वाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो । तर, यो त संविधान, संवैधानिक प्रक्रिया र सात दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्‍याउने दीर्घ तयारीसहितको गम्भीर षड्यन्त्र थियो,’ ओलीले भनेका छन्, ‘तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौँ– सामाजिक सञ्जाल खुल्ला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस्–जेनेरेसन–जेड या नवयुवाहरूले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन । यी त हामी स्वयम्‌ले वर्षौंदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेन्डा थिए ।’

मृतकप्रति पहिलोपटक खुलेर श्रद्धाञ्जली

ओलीले पहिलोपटक जेन–जी आन्दोलनमा घुसपैठ भएको पहिलेजस्तै दोहोर्‍याए ।

उनले भने, ‘नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने वचन दिएका थिए । प्रशासनले अनुमति पनि दिएकै थियो । तर दुःखको कुरा, त्यो कार्यक्रममा घुसपैठ भयो । विभिन्न स्वार्थ समूह प्रवेश गरे,’ ओलीले भनेका छन्, ‘अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद भवनमा आगजनी र तोडफोड गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीहरूको ज्यान जाने दुःखद एवं अकल्पनीय परिस्थिति सिर्जना भयो ।’

ओलीले मारिएकाहरू प्रति खुलेर श्रद्धाञ्जली व्यक्त गरे, जुन जेन–जी आन्दोलको तीन महिनापछि पहिलोपटक थियो । 

‘२३ भदौमा गोली लागेर ज्यान गुमाएका युवा, २४ भदौमा अराजक भिडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु,’ ओलीले भनेका छन् ।

राजीनामा दिएपछि सम्पदा जलेको दाबी

ओलीले आफूले राजीनामा दिएपछि राज्यका सम्पत्ति र सम्पदा जलेको बताए । २३ भदौको घटनापछि गृहमन्त्रीको राजीनामा र सरकारले छानबिन गर्न खोज्दासमेत नपुगेर देशमाथि आगो झोसिएको बताए ।

२४ भदौको भयानक आगजनी देशले भोग्दा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता तीनवटै निकायमाथि एकसाथ आक्रमण भएको उनको भनाइ थियो ।

‘जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए । नेता कार्यकर्ताहरूका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो । यसरी राष्ट्रपति भवनदेखि सिंहदरबारजस्ता राष्ट्रिय सम्पदाहरू, शहीदका सालिक, लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवनसमेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निसाना बने,’ ओलीले भनेका छन्, ‘यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि भए । त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन्; ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खलबल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए ।’

राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै 'आन्दोलन', 'विद्रोह' र 'क्रान्ति'का रूपमा महिमामण्डित गरिएको भन्दै उनले रोष प्रकट गरे ।

महाविनाश नबिर्सन अपिल

ओलीले २४ भदौको आगजनीलाई महाभारतकालीन परिस्थितिसँग तुलना गरेका छन् ।

‘राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौँ ।  नेताहरू, समाजका अगुवाहरू मारिऊन्, समाप्त होऊन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ– हेलिकोप्टर चढेर भागे । महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नुपर्‍यो । इतिहासले दोष कसलाई दियो– आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ?’

महाविनाशलाई कुनै हालतमा नबिर्सन उनले आह्वान रेका छन् ।

‘प्रश्न त्यत्ति न हो ! त्यो महाविनाश– न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ । दोहोर्‍याएरै भन्छु– नबिर्सौं !!! अहिलेलाई यत्ति मात्र.’ उनको भनाइ छ, ‘त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस्, अपराधीले सजाय पाऊन् !’

प्रतिनिधिसभा विघटन नमान्ने

अनधिकृत रूपमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै ओलीले त्यसलाई नमान्ने बताएका छन् ।

‘काम चलाउ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर, देशलाई उल्टो दिशामा लगियो– संविधानको बाटो छोडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो,’ ओलीले भाषणमा भनेका छन्, ‘त्यसैले हामी भन्छौँ– अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ । जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीतिबाहिर धकेल्नु हो ।’

यस्तो शैलीले लोकतन्त्र बलियो नहुने भन्दै उनले विघटन मान्य नभएको बताए ।

‘यस्तो कामले लोकतन्त्र बलियो हुँदैन । त्यसैले प्रतिनिधिसभा विघटन मान्य छैन,’ ओलीले भनेका छन्, ‘हाम्रो माग स्पष्ट छ– प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् ।’

चुनावबाट नभाग्ने उद्घोष

ओलीले प्रतिनिधिसभा विघटन नै विकल्प भए पनि चुनावबाट भाग्ने पक्षमा नभएको पनि बताउन भुलेनन् । अर्थात् प्रतिनिधिसिभा पुनर्स्थापना गरेर राजनीतिक जित देखाउन खोजे पनि निर्वाचनको राजनीतिको भने उनले विरोध गरेनन् ।

‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?' उनले भने ।

‘चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ? अहँ देखिँदैन ! चुनाव चाहने सरकार के गर्थ्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गर्थ्यो । दलका गतिविधि प्रोत्साहित गर्थ्यो,’ ओलीले भनेका छन्, ‘चुनावको अनिवार्य सर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गर्थ्यो । तर, अहिले के भइरहेको छ ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान– हद ... निषेधाज्ञा ! यसरी चुनावको वातावरण बन्छ कि डरको ?’

बहुमत ल्याउने दल चुनावबाट कसरी भाग्ने भन्न पनि उनी भुलेनन् ।

‘मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ? जनताले चाहेको कुरा स्पष्ट छ– साँचो प्रतिस्पर्धा, स्वतन्त्र चुनाव र निष्पक्ष वातावरण ! हाम्रो पनि भनाइ यही हो,’ ओलीले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ? तर, अहिले कहाँ चुनाव हुँदै छ र ? चुनावको कुरा मात्र भइरहेको छ । त्यसैले हाम्रो अडान छ– प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।’

जेन–जीविरोधी नभएको दाबी

ओलीले एमालेलाई जेन–जी विरोधी नभई मैत्री पार्टी भएको प्रस्ट्याए ।

उनले भने, ‘तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंसको इन्धन बनाउन खोज्नेहरूबाट जोगिनुहोस् ।तपाईंहरूका जायज आवाजको आडमा देशका विरुद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस् । देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनुहोस् ।'

उनले थप भने, 'म युवापुस्तालाई भन्न चाहन्छु–असहमति राख्नुस्, आलोचना गर्नुस्, जवाफ माग्नुस् । तर, एउटा कुरा नबिर्सनुस्– आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन । यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु– जहाँ सकिन्छ, त्यहाँ युवालाई अगाडि सारौँ; उनीहरूको कुरा ध्यान दिएर सुनौँ, उनीहरूका जायज एजेन्डालाई उचित स्थान दिऔँ । युवापुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन ।’

ओलीको मिलेर काम गर्ने कुरा

सामान्यतया मिलेर काम गर्न अनुदार रहेका ओलीले लामो भाषणका क्रममा असहज परिस्थितिको मिलेर समाधान गर्न पनि आह्वा गरे ।

‘म नेपालका सम्पूर्ण राजनीतिक दलहरू, अन्य संघसंस्थाहरू, नागरिक समाज, मिडिया र आमजनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु,’ उनले भने, ‘साथीहरूलाई स्पष्ट हुन म आग्रह गर्छु । आजको हाम्रो संघर्ष– जेन–जी पुस्ता र पाको पुस्ताबीचको हुँदै होइन । पुराना दल र नयाँ पुस्ताबीचको पनि हुँदै होइन । संघर्षको केन्द्रविन्दु त देश बनाउने र देश जलाउनेबीचको हो ।’

मिल्ने कुरा गर्दा उनले जेन–जीलाई केन्द्रमा राखे ।

‘मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैँभरि देश बनाउने कित्तामा उभिनेछ । निश्चय नै, तपाईंहरूको अपेक्षा र राज्यको डेलिभरी क्षमताबीचमा ग्याप छ । तपाईंहरू प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरूको भिड र कर्मचारीहरूको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस्,’ ओलीले भनेका छन्, ‘अवसरहरू सबैका लागि बराबर होऊन् ।आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस् । योग्यताका आधारमा छनोट होस् । तपाईंहरूका अपेक्षा विल्कुल जायज छन् । यस दिशामा केही उपलब्धि पनि भएका छन् ।’

महाधिवेशनबारे

पार्टीको सबैभन्दा ठूलो कार्यक्रमको उद्घाटन गर्न आएका ओलीले यसबारे धेरै बोल्न आवश्यक ठानेनन् । लामो भाषणको अन्तिममा मात्रै महाधिवेशनकेन्द्रित भएर केही कुरा राखे । तर, पार्टी नीति, नेतृत्वका विवाद, अलमल र समीकरणबारे खुलेर बोलेनन् ।

‘हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक 'एघार'लाई एकछिन ध्यान दिएर हेरौँ– एघारमा दुईवटा 'एक' हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका 'एक' होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका 'एक' हुन् । त्यसैले, हामी प्रत्येक एक– एमालेले अर्को एक– एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै 'एघार' बन्छौँ, बलियो शक्ति बन्छौँ,’ ओलीले भने, ‘एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात–प्रतिघात गरे– हामी साधारण 'एक–एक, एक' मात्र रहनेछौँ । तर, एउटाले अर्कोको हात समायो, मन मिलायो भने हामी 'एक–एक एघार' बन्छौँ । हामी एघार बन्दै अघि बढ्यौँ भने यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ । सबैलाई शुभकामना !’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित