युरोपनेपाली खबर, लिस्बन (पोर्चुगल) ।
संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने मूल नारासहित दोस्रो ‘विश्व ध्यान दिवस’ विश्वभर मनाइएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसको मान्यता दिएअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइएको हो ।
यसै सन्दर्भमा नेपाल सरकारले आफ्ना कूटनीतिक नियोगहरूमा ध्यान शिविर सञ्चालन गर्न निर्देशन दिएअनुसार आज लिस्बनस्थित नेपाली राजदूतावासले पनि ध्यान शिविर सञ्चालन गरेको छ।
दूतावासको सभाहलमा भएको कार्यक्रममा पोर्चुगलका विभिन्न क्षेत्रका नेपाली नागरिकहरूको सहभागिता थियो। ध्यान शिविर जीवन विज्ञानका प्रशिक्षकद्वय लभ्लीप्रसाद शर्मा र विजेन लामाले ध्यान र योग विधिका बारेमा सहभागीलाई प्रशिक्षण दिँदै यसका विविध आयामबारे प्रकाश पारेका थिए।
परापूर्वकालदेखि नै नेपालको हिमालय क्षेत्र ध्यानको केन्द्र थियो भने योगमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको मुलुकको रूपमा विश्व जगत्मा नेपालको विशिष्ट पहिचान रहेको सन्दर्भमा संयुक्त राष्ट्र संघको आह्वानमा नेपालले यस प्रकारका कार्यक्रमहरु कुटनैतिक निकायमार्फत पनि आयोजना हुनु सकारात्मक र उत्साहजनक रहेको नेपाली दूतावास लिस्बनका महामहिम राजदूत प्रकाशमणि पौडेलले बताउनु भयो ।
ध्यान शिविर कार्यक्रमको माध्यमबाट पोर्चुगलमा समेत शारीरिक, मानसिक र सामाजिक स्वास्थमा सकारात्मक प्रभाव पार्ने र ध्यान र योगको प्रचारप्रसार तथा प्रवर्द्धन हुने दूतावासका द्वतीय सचिव रामबाबु नेपालले विश्वास व्यक्त गर्नुभयो ।
गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको हो।
FOUNDER/CHIEF EDITOR :