लिस्बन (पोर्चुगल) — सन् २०१४ मा स्थापना भइ पोर्चुगलमा क्रियाशील नेपाली महिलाहरूको साझा तथा अग्रणी संस्था ‘नेप्लिज वुमन एसोशियसन पोर्चुगल’ले आफ्नो पाँचौं अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने तयारी तीब्र भएको छ ।
प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति, महिला सशक्तिकरण र सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको यस संस्थाले आगामी जनवरी ४ तारिख आइतबार आफ्नो अधिवेशनको साथै अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको संस्थाकी अध्यक्ष शान्ति अर्यालले जानकारी दिइन् ।
एभरेस्ट मम रेस्टुरेन्ट आन्जुसको हलमा आयोजना हुने यस उद्घाटन समारोह दिनको १ बजेबाट सुरु हुने आयोजक समितिले जानकारी दिएको छ ।
संस्थाले आफ्नो स्थापनाकालदेखि नै पोर्चुगलमा रहेका नेपाली महिलाहरूको हकहित संरक्षण, सामाजिक एकताको सुदृढीकरण र आपतकालीन अवस्थामा राहत तथा सहयोग प्रदान गर्न उल्लेख्य भूमिका खेल्दै आएको छ ।
यस पटकको पाँचौं अधिवेशन संस्थाको जीवनमा एक कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ, जसले संस्थालाई नयाँ र ऊर्जावान् नेतृत्व प्रदान गर्नुका साथै आगामी कार्यकालका लागि थप प्रभावकारी तथा रचनात्मक योजनाहरू तय गर्नेछ ।
अधिवेशनको बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ भने खुल्ला सत्रमा अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनसँगै आपसी भाइचारा, सद्भाव र सम्बन्ध नवीकरण गर्ने उद्देश्यले शुभकामना आदानप्रदान गरिनेछ । विदेशको व्यस्त जीवनशैलीका बाबजुद पनि नेपालीपन र नेपाली मनलाई एकै ठाउँमा जोड्न यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन् । कार्यक्रममा पोर्चुगलस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ ।
उक्त दिनमा पोर्चुगलवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन तथा सदस्यहरुले नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी भई संस्थालाई थप उचाइमा पुर्याउन सहयोग गरिदिनुहुन नेप्लिज वोमन एसोशियसन पोर्चुगलले हार्दिक अपिल गरेको छ ।
कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक सम्पूर्ण तयारीहरू तीव्र गतिमा भइरहेको आयोजकहरुले जनाएको छ ।
FOUNDER/CHIEF EDITOR :