अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालको ऐतिहासिक सफलता, ५७ अंकसहित नयाँ कीर्तिमान, सङ्खुवासभाका प्रसिद्ध थापासहित ३ जनालाई Honourable Mention प्राप्त

अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालको ऐतिहासिक सफलता, ५७ अंकसहित नयाँ कीर्तिमान, सङ्खुवासभाका प्रसिद्ध थापासहित ३ जनालाई Honourable Mention प्राप्त
www.europenepalikhabar.com २०८३ साउन ६ गते बुधबार, 22-07-2026


युरोप । चीनको साङ्घाईमा जुलाई १० देखि २० सम्म सम्पन्न ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (IMO) मा नेपाली टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ। नेपालले समग्र ५७ अंक प्राप्त गर्दै यसअघि कायम ४६ अंकको राष्ट्रिय कीर्तिमान तोडेको हो।

प्रतियोगितामा सहभागी नेपाली टोलीका सदस्य सङ्खुवासभा जिल्ला, खाँदबारी नगरपालिकाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य र धादिङका निसान खत्रीले समान रूपमा एक–एक अनरेबल मेन्सन (Honourable Mention) प्राप्त गरेका छन्।


अन्य सदस्यहरू बर्दियाका मिसन जोशी, मोरङका युगान्तर कालाखेती र पोखराका अरिज पोखरेलको योगदानसहित नेपालले कुल ५७ अंक जोड्दै ११७ सहभागी राष्ट्रमध्ये ३३ देशलाई पछि पारेर ८४औँ स्थान हासिल गरेको म्याथेमेटिकल एसोसिएसन अफ नेपालका अध्यक्ष तथा कन्ट्री लिडर हरि प्रपन्न कँडेलले जानकारी दिए।

सन् २०१७ मा ब्राजिलमा भएको अन्तर्राष्ट्रिय गणित ओलम्पियाडबाट सहभागिता सुरु गरेको नेपालको यो लगातार १०औँ सहभागिता हो। यस वर्षको प्रतियोगितामा नेपालसहित ११७ देशका ६६६ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

म्याथेमेटिकल एसोसिएसन अफ नेपालका महासचिव तथा कार्यक्रम संयोजक छवि ढुङ्गानाका अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालयअन्तर्गत सञ्चालन गरिएको ओलम्पियाड कार्यक्रममार्फत करिब २,५०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए। जिल्ला, प्रदेश र केन्द्रीय चरणका छनोट परीक्षा तथा छ महिनाभन्दा लामो प्रशिक्षणपछि देशभरबाट उत्कृष्ट ६ विद्यार्थी छनोट गरिएको थियो।

ढुङ्गानाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थप प्रशिक्षण र सरकारी सहयोग वृद्धि भएमा भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताए।

प्रतियोगिताअघि नेपाली टोलीले ७० भन्दा बढी देशका सहभागीहरू सम्मिलित २१ दिने विशेष बन्द प्रशिक्षणमा समेत सहभागिता जनाएको थियो। राष्ट्रिय प्रशिक्षक इन्जिनियर प्रजित अधिकारीका अनुसार उत्कृष्ट प्रदर्शनका लागि टोलीलाई विशेष तयारी गराइएको थियो।

टोलीको सह–नेतृत्व कोषाध्यक्ष नारायण पौडेलले गरेका थिए। प्रतियोगितामा सहभागिता जनाएर नेपाली टोली जुलाई २१ मा स्वदेश फर्किएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित