विश्व विख्यात पर्वतारोही को हुन् निर्मल पुर्जा ? निम्स दाइको निधनमा विश्वभरबाट श्रद्धाञ्जली !

विश्व विख्यात पर्वतारोही को हुन् निर्मल पुर्जा ? निम्स दाइको निधनमा विश्वभरबाट श्रद्धाञ्जली !
www.europenepalikhabar.com २०८३ साउन १७ गते आइतबार, 2-08-2026


पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र तथा उनका लाखौँ समर्थकलाई स्तब्ध बनाएको छ ।


देशका कार्यकारी प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्षनेता, पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही, विदेशी शुभेच्छुक तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले निम्स दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको साहस, समर्पण र नेपालको अन्तरराष्ट्रिय पहिचान निर्माणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।

निम्सलाई चिनाउने यी दुई पहिचान

निम्सले फेसबुकमा लेखेका छन्– जीवनका हिमालहरू जस्तोसुकै किन नहून्, ती सबै चढ्न सकिन्छ

विश्वमा नेपाल र नेपालीलाई चिनाउने दुइटा महत्वपूर्ण पहिचान छन्।

पहिलो, ब्रिटिस गोर्खा।

दोस्रो, हिमालका शेर्पा।

विश्वयुद्धदेखि विभिन्न अन्तर्राष्ट्रिय लडाइँमा गोर्खालीहरूले देखाएको साहस र वीरता नेपालीको ऐतिहासिक पर्याय बन्दै आएको छ।

त्यस्तै, विश्वका अग्ला शिखरहरू भएको हिमाली क्षेत्र र त्यहाँका शेर्पाहरूको अदम्य साहस र क्षमता पनि संसारका लागि नेपालीहरूको पर्याय बनिरहेकै छ।

गोर्खाली वीरताको इतिहास र हिमाली शेर्पाको अदम्य साहसलाई एकाकार गराउने पात्र हुन् निर्मल पुर्जा, जसलाई आज संसारले 'निम्स दाइ' भनेर चिन्छ।

उनलाई यो नयाँ नाम पनि यी दुई पहिचानले नै दिएको हो।

म्याग्दीमा जन्मेका निर्मल पुर्जा बेलायती सेनामा भर्ती भएपछि 'निम्स दाइ' बनेका थिए। सेनामा रहँदा बेलायती सहकर्मीहरूले उनको नाम उच्चारण गर्न अप्ठ्यारो भएपछि 'निम्स' भन्न थालेका थिए। त्यही 'निम्स' हिमाल आरोहण गर्न थालेपछि सबैका प्रिय 'निम्स दाइ' बने।

हिमाल आरोहणमा अनेकौं कीर्तिमान बनाएर उदाएका ४२ वर्षीय निम्स शनिबार हिमालमै अस्ताएका छन्। त्यो पनि आरोहणकै क्रममा।

पाकिस्तानको काराकोरम पर्वत शृंखलामा पर्ने 'ब्रोड पिक' हिमाल चढ्ने क्रममा उनको निधन भएको छ।

आरोहण जीवनमा कठिनभन्दा कठिन परिस्थिति छिचोलेका निम्स दाइ नयाँ रेकर्डसम्मुख रहँदा संसारबाट बिदा भएका छन्। उनीसँगै अन्तर्राष्ट्रिय स्तरका नेपाली आरोही पुरबहादुर गुरूङ 'युक्ता', किली पेम्बा शेर्पा 'किलु', निमा शेर्पा र नवाङ थिन्डु शेर्पाले पनि ब्रोड पिकमै ज्यान गुमाए।

त्यस्तै, ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइसले पनि ब्रोड पिकको हिमपहिरोमा परी ज्यान गुमाएका छन्।

निर्मल पुर्जाले सन् २०१२ देखि आरोहण सुरू गरेका थिए। त्यति बेला सगरमाथा बेस क्याम्प आएका उनले लोबुचे हिमाल आरोहण गरेका थिए।

जीवनमा हिमाल आरोहण गर्छु भनेर उनले कहिल्यै योजना बनाएका थिएनन्। उनी यसपालि ब्रोड पिक पनि बिनायोजना नै चढेका थिए।

बेलायती सेनामा कार्यरत रहँदै उनलाई आफ्ना सहकर्मीहरूको प्रश्नले हिमाल चढ्ने जुनून सवार भएको थियो।

सेनामा सहकर्मीहरूसँग परिचय हुँदा कुन देशबाट आएको भनेर सोध्थे। निर्मलले नेपालको भन्ने जबाफ दिएपछि उनीहरू विश्वकै सर्वोच्च शिखर सगरमाथा र त्यसको भूगोलबारे जान्न चाहन्थे।

'त्यसपछि मलाई आफ्नै देशमा भएको हिमाल चढ्नुपर्छ भन्ने लाग्यो,' पुर्जाले केही वर्षअघि भनेका थिए।

आरोहण सुरू गर्नुअघि उनले १६ वर्ष बेलायती सेनामा सेवा गरे भने ६ वर्ष गोर्खा रेजिमेन्टमा बिताए। त्यसपछि १० वर्ष बेलायतको विशेष नौसैनिक फौज 'स्पेसल बोट सर्भिस (एसबिएस)' मा रहे।

सन् २००९ मा उनी एसबिएसमा छनोट हुने पहिलो गोर्खा सैनिक बनेका थिए।

बेलायती सेना छाडेपछि सन् २०१२ मै उनले पहिलो पटक ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहण गरे। त्यसपछि सुरू भएको हिमाल आरोहण यात्रा केही वर्षमै विश्व कीर्तिमानतर्फ पुगेको थियो।

सन् २०१६ मा पहिलो पटक सगरमाथा आरोहण गरेका उनले फर्किने क्रममा 'डेथ जोन' मा समस्यामा परेका एक आरोहीको उद्धार गरेर अन्तर्राष्ट्रिय चर्चा बटुलेका थिए।

यही साहसिक उद्धार र उच्च हिमाली पर्वतारोहणमा पुर्‍याएको योगदानका लागि बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले उनलाई सन् २०१८ मा एमबिई (member of the order of the British Empire) सम्मान प्रदान गरेकी थिइन्।

सन् २०१९ मा निम्सले विश्व पर्वतारोहणकै सबभन्दा कठिन मानिने उपलब्धिमध्ये एक हासिल गरे। उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाए।

यसअघि दक्षिण कोरियाका पर्वतारोही किम चाङ–होको नाममा रहेको झन्डै आठ वर्षको कीर्तिमान उनले तोडेका थिए।

उनले यो अभियानलाई 'प्रोजेक्ट पसिबल' नाम दिएका थिए, किनभने धेरैले यो लक्ष्य सम्भव नै नभएको बताएका थिए।

सन् २०२१ को १६ जनवरीमा उनले मिङ्मा डेभिड शेर्पासहित पूर्ण नेपाली टोलीको नेतृत्व गर्दै विश्वको दोस्रो अग्लो हिमाल केटूको पहिलो पटक जाडो महिनामा आरोहण गरेर अर्को इतिहास रचे।

दशकौंदेखि विश्वभरका आरोहीले प्रयास गरे पनि कसैले सफल हुन नसकेको केटू हिउँदमा पहिलो पटक नेपाली टोलीले नै आरोहण गरेको थियो। चुचुरो पुग्नुअघि टोलीले नेपाली राष्ट्रिय गान गाएको दृश्य विश्वभर चर्चित बनेको थियो।

उच्च हिमाली पर्वतारोहणमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सन् २०२० मा एसियाली अल्पाइन संघले पियोले डे'ओर सम्मान प्रदान गरेको थियो।

म्याग्दीमा जन्मिएर चितवनमा हुर्किएका निम्स आज नेपाली पर्वतारोहणका मात्र होइन, विश्व पर्वतारोहणकै सबभन्दा प्रभावशाली आरोहीमध्ये गनिन्छन्।

उनको संघर्ष र सफलतामा आधारित भएर नेटफ्लिक्सले '१४ पिक्स: नथिङ इज इम्पोसिबल' सिरिज समेत बनाएको छ। उनको आरोहण जीवनको बेलीविस्तार लगाउने 'बियोन्ड पसिबल' पुस्तक पनि प्रकाशित छ।

निम्सले पाँच दिनअघि जुलाई २७ तारिख साँझ ५ बजेर २१ मिनेट जाँदा आफ्नो फेसबुकमा ब्रोड पिक आरोहण 'अहिले आफ्नो योजनामा नरहेको' उल्लेख गरेका थिए। साथै, संसारका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये १२औं स्थानमा पर्ने ब्रोड पिक आरोहण गर्नुको कारण पनि खुलाएका थिए।

उनले फेसबुक पोस्टमा 'द मिसन सिफ्ट्स, द कम्पास होल्ड्स' भनेर लेखेका थिए, जसको आसय हुन्छ — लक्ष्य परिवर्तन भएको छ, तर दिशा उही छ।

फेसबुक स्ट्याटस अनुसार, निम्सको योजना पाकिस्तानको जी–टू (ग्यासरब्रुम–२) मात्र चढ्ने थियो। तर पाकिस्तान जानुअघि उनले ८००० मिटर उचाइका हिमालमध्ये ब्रोड पिक र नेपालको चोयू मात्र अक्सिजनबिना दुई पटक चढ्न बाँकी रहेको सम्झे।

त्यसपछि पाकिस्तानमा छँदा नै ब्रोड पिक आरोहण गर्न पाए नेपालको चोयू मात्र दुई पटक चढ्न बाँकी रहने हुँदा यसपालि नै यो काम गर्ने योजना बनाएको उनले फेसबुकमा लेखेका थिए।

उनको फेसबुक स्ट्याटसमा लेखिएको छ —

यो मेरो योजनामा थिएन। सुरूको योजना जी–टू (ग्यासरब्रुम–२) मात्र चढ्ने थियो। तर पाकिस्तानतर्फ लाग्नुअघि मैले आफ्ना ८,००० मिटर उचाइका हिमशिखर आरोहणको हिसाबकिताब हेरेँ। त्यही बेला मलाई महसुस भयो– यदि मैले यहाँ छँदै 'ब्रोड पिक' पनि सफल आरोहण गरेँ भने, मेरो लागि केवल एउटा मात्र बाँकी रहन्छ — 'चोयू'। त्यसपछि म कुनै पनि पूरक अक्सिजनबिना संसारका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल दुई–दुई पटक चढ्ने इतिहासकै पहिलो व्यक्ति बन्नेछु।

यो योजनाबद्ध थिएन। मेरो ध्यान 'ह्याट्रिक प्रोजेक्ट' मै केन्द्रित थियो, किनकि यसको पछाडि एउटा अझ ठूलो उद्देश्य थियो। तर अवसरहरू चिच्याएर आउँदैनन्; अवसरले तिनकै अगाडि सुस्तरी फुसफुसाउँछन्, जो पहिल्यैदेखि मौन रहेर कडा मिहिनेत गरिरहेका हुन्छन्।

एउटा रहस्य मैले प्रत्येक अभियानमा आफूसँगै बोकेर हिँडेको छु — मैले कहिल्यै अरू कसैसँग प्रतिस्पर्धा गरिनँ। मेरो एक मात्र प्रतिस्पर्धा म आफैसँग थियो। म हिजो जे थिएँ, त्योसँग मात्र मेरो प्रतिस्पर्धा थियो। म हरेक दिन, आफ्नै सीमाहरूसँग जुध्दै थिएँ। किनभने, जुन क्षण तपाईं दायाँ–बायाँ हेर्न थाल्नुहुन्छ; अरूले के गरिरहेका छन्, के भनिरहेका छन्, वा के हासिल गरिरहेका छन् भनेर सोच्न थाल्नुहुन्छ; त्यही क्षण तपाईं आफ्नो सही दिशाबाट भड्किनुहुन्छ। तपाईंको गन्तव्य र दिशा केवल तपाईंको हो, यसलाई दृढतापूर्वक रक्षा गर्नुहोस्।

जब मैले 'प्रोजेक्ट पसिबल' का क्रममा बिनाअक्सिजन १४ वटै हिमाल चढेँ, मानिसहरूले मेरो आलोचना गरे। यदि त्यो सफलता पछाडिको संघर्ष तपाईंले देख्नुभएको छैन भने, नेटफ्लिक्समा '14 Peaks' हेर्नुहोस्। त्यो फिल्म कुनै पनि मिसावट नगरिएको यथार्थ घटनामा आधारित छ।

त्यति बेला म अन्य टोलीहरूले छाडिदिएका आरोहीहरूको उद्धार गरिरहेको थिएँ, आफै रकम जुटाइरहेको थिएँ, अग्रपंक्तिमा रहेर टोलीको नेतृत्व गरिरहेको थिएँ, आफै अघि सरेर डोरी टाँगिरहेको थिएँ, चीनसँग सिसापाङ्माको अनुमतिका लागि पहल गरिरहेको थिएँ; र मेरी आमाको अपरेसन बेला अस्पतालमा बसिरहेको थिएँ। त्यसबाहेक पनि अझ अरू धेरै कुरा सम्हालिरहेको थिएँ।

अनि अहिले?

अहिले म बिनाअक्सिजन दोहोर्‍याएर यी हिमाल आरोहण गर्दैछु, कुल मिलाएर तेस्रो पटक। बाहिरको होहल्ला अझै रोकिएको छैन। तर मैले ती हल्ला सुन्न छाडिदिएको छु।

जसलाई अझै पनि शंका छ, म उनीहरूलाई भन्न चाहन्छु — मैले पहिल्यै पाकिस्तानमा रहेका ८ हजार मिटर उचाइका सबै ५ वटा हिमाल चढिसकेको छु, त्यो पनि मात्र २६ दिनमा। ती आरोहणमा मैले नेतृत्व गरेँ, गाइड गरेँ, बिना अक्सिजन। र, जसले अक्सिजन प्रयोग गरेर मेरो रेकर्ड तोडे, म आज ती रेकर्ड फेरि तोड्दै छु। यसका सबै प्रमाण छर्लंग छन्।

ब्रोड पिक! म केवल सुरक्षित रूपमा माथि पुग्ने र फर्किने बाटोको याचना गर्छु।

म कुनै पनि हिमाललाई हल्का रूपमा लिन्नँ। लिँदै लिन्नँ। जुन क्षण मेरो पाइला बेसक्याम्पबाट अघि बढ्छ, त्यहाँ मेरो शत–प्रतिशत समर्पण रहन्छ। मेरो यो समर्पण सधैं यस्तै थियो। र, सधैं यस्तै रहनेछ।

यो आरोहण मलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने प्रत्येक व्यक्तिमा समर्पित छ। समर्थकहरू, आलोचकहरू, तपाईंहरू सबैमा। यसका लागि म तपाईंहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

मेरो उद्देश्य कहिल्यै मेरो आफ्नो लागि थिएन। यो त मैले जे कुराको प्रतिनिधित्व गर्छु, त्यसका लागि हो।

तपाईंहरू सबैलाई यो साबित गर्न हो — तपाईंको जीवनका हिमालहरू जस्तोसुकै किन नहून्, ती सबै चढ्न सकिन्छ।

निम्सले आफ्नो यो अन्तिम फेसबुक पोस्टमा भनेझैं उनको जीवनबाट हामी सबैले यही कुरा सिक्नुपर्छ — जीवनको बाटोमा हाम्रो अगाडि कठिनभन्दा कठिन चुनौतीको हिमाल आउने छन्, र ती सबै हिमाल चढ्न सकिन्छ।

प्रधानमन्त्रीको श्रद्धाञ्जलीः ‘इतिहासमा सधैँ जीवित रहनेछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै भनेका छन्, निर्मल पुर्जासहित दिवङ्गत सबै आरोहीहरूको भौतिक यात्रा समाप्त भए पनि उनीहरूको साहस, समर्पण र योगदान इतिहासमा सधैँ प्रेरणाको स्रोतका रूपमा जीवित रहनेछ ।

उनले लेखेका छन्, “आरोहण केवल शिखर चुम्ने यात्रा होइन, यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि समेटेर पनि राख्छ । तर हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।”

प्रधानमन्त्री शाहले ब्रोड पिक दुर्घटनामा निधन भएका सम्पूर्ण आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

को हुन् निम्स दाइ ?

२५ जुलाई १९८३ मा म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पुर्जाको बाल्यकाल चितवनमा बितेको थियो । बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि उनी बेलायती रोयल नेभीको स्पेसल बोट सर्भिस (एसबीएस)मा छनोट हुने पहिलो नेपाली बने ।

सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना छ दिनमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरे । यसअघि रहेको सात वर्ष पुरानो विश्व कीर्तिमान तोडेर उनले नेपाललाई विश्व पर्वतारोहण इतिहासमा नयाँ उचाइमा पुर्‍याए ।

उनले हिमाल आरोहणलाई व्यक्तिगत सफलतामा सीमित नराखी नेपाल, नेपाली पर्वतारोही र साहसिक पर्यटनको विश्वव्यापी प्रवर्द्धनका लागि अभियानकै रूपमा अघि बढाए ।

राजनीतिक नेतृत्वको श्रद्धाञ्जली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निम्स दाइसँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, “प्रिय निम्स, फर्किएर भेट्ने वाचा थियो । तर तिमी नफर्किने बाटो गएछौ । अब त केवल सम्झनाहरूमात्र बाँकी छन् । तिम्रो अनुपस्थितिले मन भारी भएको छ । तर तिमी र तिम्रो अदम्य साहस सम्झनाका रूपमा अनन्तसम्म बाँचिरहनेछ । जहाँ भए पनि, चिरशान्तिमा रहनू ।”

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि निम्स दाइ कठिन परिस्थितिबाट पनि फर्कने व्यक्तित्व भएकाले अन्तिम क्षणसम्म आफू आशावादी रहेको उल्लेख गरेका छन् । उनले निम्स दाइसँग ‘प्रोजेक्ट पसिबल’ सुरु हुनुअघि नै भेट भएको स्मरण गर्दै लेखेका छन्, “संसारले तिमीलाई चिन्नुअघि नै तिमीभित्रको आत्मविश्वास र साहस देखेको थिएँ । तिमी फेरि फर्कन्छौ भन्ने विश्वास अन्तिम क्षणसम्म थियो ।”

पर्यटन क्षेत्रको अपूरणीय क्षति

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निम्स दाइलाई ‘हिमाल जित्ने मानिसमात्र होइन, सपना जगाउने मित्र’का रूपमा स्मरण गरेका छन् ।

उनका अनुसार निम्स दाइको लक्ष्य व्यक्तिगत कीर्तिमान कायम गर्नुमात्र थिएन । उनी सुरक्षित, व्यवस्थित र सम्मानजनक पर्वतारोहण संस्कृति निर्माण गर्न, नेपाली गाइड तथा पर्वतारोहीलाई अन्तरराष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न, वर्षभरि हिमाली पर्यटनलाई सक्रिय बनाउन तथा नेपालको साहसिक पर्यटनलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न निरन्तर लागिरहेका थिए ।

विश्वभरबाट श्रद्धाञ्जली

निम्स दाइको निधनसँगै विश्वभरका पर्वतारोही, साहसिक खेलकुदका अभियन्ता, पर्यटनकर्मी तथा उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उनको जीवन, विश्व कीर्तिमान र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानलाई विशेष प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका छन् ।

विशेषगरी आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना छ दिनमा आरोहण गरेर बनाएको विश्व कीर्तिमानलाई आधुनिक पर्वतारोहण इतिहासकै सबैभन्दा असाधारण उपलब्धिमध्ये एकका रूपमा स्मरण गरिएको छ ।

ब्रोड पिक दुर्घटना

निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय आरोही टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब छ हजार ७०० मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो । टोलीमा छ नेपाली र चार विदेशी आरोही सहभागी थिए ।

दुर्घटनापछि पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन, स्थानीय उद्धार टोली तथा के–२ क्षेत्रमा रहेका अनुभवी आरोहीहरू परिचालन गरिएका थिए । प्रतिनिधिसभा सदस्य तथा अनुभवी आरोही मिङ्मा डेभिड शेर्पा पनि खोजी अभियानमा सहभागी भएका थिए । व्यापक खोजीपछि निम्स दाइसहित सम्पूर्ण आरोहीको निधन भएको पुष्टि गरिएको हो ।

अमर रहनेछ उनको योगदान

निर्मल पुर्जा अब भौतिक रूपमा हाम्रो बीच नरहे पनि उनले छाडेर गएको साहस, नेतृत्व, अनुशासन, मानवता र असम्भवलाई सम्भव बनाउने आत्मविश्वास नेपाली समाज र विश्व पर्वतारोहण समुदायका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ । उनको जीवनले एउटा सन्देश दिएको छ– सीमाहरू प्रायः हाम्रो मनमा हुन्छन्; दृढ इच्छाशक्ति, कठोर परिश्रम र आत्मविश्वासले असम्भव देखिने लक्ष्य पनि प्राप्त गर्न सकिन्छ ।

निम्स दाइको भौतिक शरीर विलीन भएको छ, तर उनको अदम्य साहस, समर्पण र योगदान इतिहासमा सधैँ अमर रहनेछ । ब्रोड पिक दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना !

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित