पोर्चुगलमा युरोप टि टेन क्रिकेट प्रतियोगिता हुने, विनोद भण्डारी तोकिए ब्रान्ड एम्बेसडर

पोर्चुगलमा युरोप टि टेन क्रिकेट प्रतियोगिता हुने, विनोद भण्डारी तोकिए ब्रान्ड एम्बेसडर
www.europenepalikhabar.com २०८३ साउन १७ गते आइतबार, 2-08-2026


युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) पोर्चुगलको आयोजनामा युरोपस्तरीय टि टेन क्रिकेट-२०२६ प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

उक्त प्रतियोगिता आगामी १४-१६ सेप्टेम्बरमा पोर्चुगलमा हुने तय भएको एनआरएनए एनसीसी पोर्चुगलका अध्यक्ष बमबहादुर जिसीले बताए ।

प्रतियोगिता बारे जानकारी दिने उदेश्यले एनआरएनए एनसिसी पोर्चुगलले लिस्बनको लभ लिस्बोय रेस्टुरेन्टमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

उक्त प्रतियोगितामा युरोपका विभिन्न देशका नेपाली क्रिकेट टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा युरोपमा नेपाली खेलकुद प्रतियोगिताको  हालसम्मकै ठूलो पुरस्कार राशि रहने जनाइएको छ ।

 प्रतियोगिताका सम्पूर्ण खेलहरू युरोपियन क्रिकेट नेटवर्क (इसिएन) मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताले युरोपका विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटप्रेमी तथा नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्दै आपसी भाइचारा, एकता र सहकार्यलाई थप मजबुत बनाउने आयोजकहरुले विश्वास लिएका छन् ।

प्रतियोगिताबारे एनआरएनए एनसिसीले जारी गरेको प्रेस विज्ञप्त्ति यस्तो छ :

पोर्चुगलमा पहिलो पटक आयोजना हुन लागिरहेको  युरोपस्तरीय T10 नेपाली क्रिकेट प्रतियोगिता बारेको प्रेस विज्ञप्ति !

आदरणीय पत्रकार मित्रहरू, सञ्चारकर्मीहरू तथा सम्पूर्ण सञ्चारमाध्यमका प्रतिनिधिज्यूहरू,

हार्दिक नमस्कार !

पोर्चुगलमा नेपाली समुदायको ठूलो उपस्थिति रहेको र यो दिनप्रतिदिन बढ्दो छ। यहाँ बसोबास गर्ने नेपालीहरूले आफ्नो भाषा, संस्कृति, कला, साहित्य र सामाजिक गतिविधिका साथै खेलकुदको क्षेत्रमा पनि निरन्तर सक्रियता बढाउँदै आएका छन् । विशेषगरी नेपाली युवापुस्तामाझ क्रिकेटप्रतिको आकर्षण र लोकप्रियता पछिल्लो समय उल्लेखनीय रूपमा बढिरहेको छ।

यही बढ्दो क्रिकेटप्रतिको रुचि, उत्साह र सम्भावनालाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आगामी १४-१६ सेप्टेम्बर २०२६ मा पहिलो पटक युरोपस्तरीय T10 नेपाली क्रिकेट प्रतियोगिता हुन लागिरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्तै उत्साहित र हर्षित भएका छौँ ।

नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमीहरूलाई एउटै मैदानमा जोड्ने, खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने, नयाँ खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने तथा पोर्चुगलसहित युरोप महादेशमा नेपाली क्रिकेटको विकास र प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा विजेता टोलीले ५ हजार ५ सय ५५ युरो(लगभग रु ९ लाख ६५ हजार)

सहित ट्रफी तथा उपविजेताले २ हजार ५ सय ५५ युरो(लगभग रु ४ लाख ४५ हजार) सहित ट्रफी प्रदान गरिने छ । जुन पुरस्कार रासी युरोपमा आयोजना हुने नेपाली खेलकुद प्रतियोगिताकै अहिलेसम्मको ठूलो हो ।

प्रतियोगिताको लागि ब्रान्ड एम्बासेडरको रूपमा नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी विनोद भण्डारी रहनु भएको छ, प्रतियोगिताको प्रचारप्रसार र आवश्यक समन्वयका लागि उहाँ लिस्बन आइसक्नु भएको छ र अहिले यहाँपनि उपस्थित हुनुहुन्छ ।

यो प्रतियोगिता केवल क्रिकेट खेलको प्रतिस्पर्धामा मात्र सीमित रहने छैन। यसले समग्र युरोप र पोर्चुगलमा रहेका नेपाली युवाहरूलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्ने, आपसी भाइचारा, मित्रता, सद्भाव र सहकार्यलाई अझ बलियो बनाउने तथा नेपाली समुदायमा स्वस्थ र सकारात्मक खेल संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ ।

व्यस्त दैनिकी र विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नेपाली युवाहरूलाई खेलकुदमार्फत एक ठाउँमा ल्याई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर सिर्जना गर्नु पनि प्रतियोगिताको महत्वपूर्ण उद्देश्य हो। यस प्रतियोगितामार्फत युरोप र पोर्चुगलमा रहेका नेपाली क्रिकेट खेलाडीहरूको क्षमता र सम्भावनालाई उजागर गर्दै भविष्यमा नेपाली क्रिकेटको थप विकासका लागि आधार तयार गर्न सकिने हाम्रो अपेक्षा छ।

प्रतियोगितालाई सफल, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आयोजकको तर्फबाट आवश्यक तयारीहरू अगाडि बढाइरहेका छौँ। प्रतियोगितामा सहभागी हुने टोलीहरू, खेल सञ्चालनको प्रारूप, खेल तालिका, पुरस्कार, व्यवस्थापन तथा अन्य महत्वपूर्ण विषयमा तीब्र रूपमा तयारी अगाडि बढेको छ । र खेल सचालन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनेछ ।

यस महत्वपूर्ण प्रतियोगिताका बारेमा नेपाली पत्रकार तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई औपचारिक रूपमा जानकारी गराउन हामीले यो पत्रकार सम्मेलन आयोजना गरेका हौँ।

आदरणीय पत्रकार मित्रहरू,

नेपाली समुदायका गतिविधि, समस्या, सम्भावना र उपलब्धिहरूलाई समाजसामु पुर्‍याउन यहाँहरूले निर्वाह गर्दै आउनुभएको भूमिका अत्यन्त महत्वपूर्ण र प्रशंसनीय छ। नेपाली समुदायका हरेक सकारात्मक गतिविधिलाई आम नेपाली समुदाय तथा सम्बन्धित सरोकारवालासम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहँदै आएको छ।

त्यसैले, पोर्चुगलमा पहिलो पटक आयोजना हुन लागेको यस युरोपस्तरीय T10 नेपाली क्रिकेट प्रतियोगितालाई सफल बनाउन यहाँहरूको साथ, सहयोग, सुझाव र सकारात्मक समाचार सम्प्रेषणको हामीले विशेष अपेक्षा गरेका छौँ। यहाँहरूले प्रतियोगिताका बारेमा नेपाली समुदायसम्म सही र प्रभावकारी सूचना पुर्‍याइदिनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।

यस अवसरमा सम्पूर्ण नेपाली पत्रकार, सञ्चारकर्मी तथा सञ्चारमाध्यमका प्रतिनिधि मित्रहरूलाई प्रतियोगिताका बारेमा जानकारी लिन, आफ्ना जिज्ञासा राख्न तथा आयोजकसँग प्रत्यक्ष संवादलागि यहाँहरुलाई हामी सधैं स्वागत गर्दछौं ।

हामीलाई विश्वास छ—खेलाडीको मैदानमा हुने प्रतिस्पर्धा, आयोजकको व्यवस्थापन र सञ्चारमाध्यमको सकारात्मक प्रचारप्रसारबीचको सहकार्यले पोर्चुगल र समग्र युरोपमा नेपाली क्रिकेटको नयाँ अध्यायको सुरुवात गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

अन्त्यमा, यस प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संस्था, खेलाडी, टोली, प्रायोजक, शुभेच्छुक तथा सञ्चारकर्मीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछौँ ।

धन्यवाद !

३१ जुलाई २०२६, शुक्रबार 

लिस्बन, पोर्चुगल ।


 बमबहादुर जिसी 

अध्यक्ष 


गुरुपेमा तामाङ  

महासचिव 


नवराज घर्तीमगर 

प्रवक्ता 

 गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित