बेलायतमा नेपाली नर्सले कति लाख रुपैयाँ कमाउँछन् ? के समाचारमा आए जस्तै हो त कमाइ ?

बेलायतमा नेपाली नर्सले कति लाख रुपैयाँ कमाउँछन् ? के समाचारमा आए जस्तै हो त कमाइ ?
युरोपनेपाली खबर २०७८ पुष ३० शुक्रबार, 14-01-2022


नरेश खपाङ्गीमगर, वीनेपाली, लण्डन। नेपालको लोकप्रिय अनलाइनखबर डटकमले विहीबार एउटा समाचार प्रकाशन गर्यो –नेपाली नर्सलाई बेलायतमा रोजगारीबारे भोलिदेखि औपचारिक वार्ता शीर्षकमा । हुनत बेलायतमा नेपालबाट नर्स ल्याउने भन्ने समाचार यसअघि पनि नेपाली मिडियामा नआएका होइनन् तर यस समाचारमा पटकपटक दोहोरिएको एउटा वाक्य छ ‘बेलायतमा नर्सहरुले मासिक चार हजार पाउण्डसम्म तलब पाउँछन् (वार्षिक ७५ लाखसम्म तलब पाउन सक्छन् ।)’

प्रस्तुत समाचार बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले नेपालबाट बेलायत ल्याउन प्रारम्भिक छलफल भइरहेको नर्सको बारेमा थियो । हामीले बेलायतमा एनएचएसमा कार्यरत नेपाली नर्सहरुलाई यही प्रश्न गरेका छौँ – के नेपालबाट बेलायत आउने नर्सले वर्षको ७५ लाख कमाउन सक्छन् त ?

नेपलिज नर्सिङ एसोसिएनकी अध्यक्ष तथा बेलायतको एक अस्पतालमा स्पेशलिष्ट नर्सका रुपमा कार्यरत सुनिता गौतम भन्छिन्, “त्यति तलब पाउने नर्सहरु पनि हुनुहुन्छ तर त्यो तहमा पुग्नलाई समय लाग्छ । एनएचएसमा काम शुरु गर्नासाथ पाउने तलब वार्षिक करिब २५ हजार पाउण्ड हो ।”

उता एनएचएसमै कार्यरत एसोसिएनका पूर्व अध्यक्ष विनोदविकास सिंखडा पनि नेपालका मिडियामा बेलायतमा नर्सहरुले पाउने तलबका बारेमा उच्चतम तलब मात्र लेखिएको बताउँछन् । “एनएचएसमा नर्सहरुले प्रवेश गर्ने तह भनेको ब्याण्ड ५ हो, त्यसपछि अनुभव र अध्ययनका आधारमा उनीहरु माथिल्लो तहमा बढुवा हुँदै जाने हो”, करिब एक दशकदेखि एनएचएसमै कार्यरत सिंखडाले भने । “ब्याण्ड ८ ‘ए’, ८ ‘बी’ मा पुग्ने हो भने त्यति (समाचारमा उल्लिखित) तलब पाउन गाह्रो पनि छैन तर अहिले ब्याण्ड ७ मै काम गर्ने नेपाली नर्सहरु पनि धेरै कम हुनुहुन्छ”, उनले थपे ।

एनएचएसको वेभसाइटमा पनि ब्याण्ड ५ का लागि २५ हजार ६५५ पाउण्ड वार्षिक तलब हुने लेखिएको छ । लण्डनभित्र केन्द्र भागमा काम गर्नेले त्यसको २० प्रतिशत अतिरिक्त तलब पाउँछन् भने बाहिरी लण्डनमा काम गर्नेले १५ प्रतिशत अतिरिक्त तलब पाउँछन् । जसलाई हाइ कष्ट एरिया सप्लिमेन्ट (एचसीएएस) भनिन्छ ।

सिंखडा भन्छन्, “यस्ता समाचारले नेपालबाट बेलायत आउन चाहने नर्सहरुको अपेक्षा धेरै नै माथि पुर्याएको छ । त्यसलाई वास्तविकतामा ल्याउन सही सूचना दिन जरुरी छ ।”

उता विहीबारको नयाँ पत्रिकाडेली डटकमले भने बेलायत जाने नर्सहरुको तलब मासिक पाँच लाख रुपियाँ लेखेको छ । त्यसको मतलब विहीबारको सटही दरसित दाँज्ने हो भने मासिक ३ हजार पाउण्ड हुन आउँछ । लण्डनको भत्ता, असामाजिक (अनसोसियल आवर) समयमा काम गरेको अतिरिक्त दर, ओभरटाइम समेत जोड्ने हो भने नयाँ आउने नर्सले त्यति कमाउन सम्भव पनि देखिन्छ ।

बेलायतका अन्य राज्यहरु स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा नर्सहरुले पाउने तलवमान अलग छ तर इङल्याण्डको भन्दा कम्ती नै छ ।

नेपाली मिडियाले उल्लेख नगरेको अर्को पाटो हो नर्सहरुले तिर्नुपर्ने कर । नर्सिङ एसोसिएनकी अध्यक्ष सुनिता गौतम भन्छिन्, “नेपालका मिडियाले बेलायतमा नर्सले पाउन सक्ने अधिकतम तलब देखाए तर तिर्नुपर्ने कर र महंगीका बारेमा बताएनन् ।”

बेलायतमा हरेक कामदारले २० प्रतिशत आयकर र २ प्रतिशत राष्ट्रिय बीमावापत तिर्नुपर्छ । त्यसमाथि आउने अप्रिल १ देखि थप १.२५ प्रतिशत राष्ट्रिय बीमावापत तिर्नुपर्छ । यसबाहेक बेलायतको जीवनयापन कतिको महंगो छ (खासगरी लण्डनको अझै चर्को छ) त्यसबारे भने चर्चा गरेको पाइँदैन ।

वाइजले गरेको सर्भेअनुसार लण्डनमा एक बेडरुम फ्लाटको मासिक भाडा १ हजार २७२ पाउण्ड, एक जनाको लागि मासिक मसलन्द खर्च ८५९ पाउण्ड तथा यातायातमा मासिक १५८ पाउण्डसम्म खर्च लाग्ने बताइएको छ । इम्पेरियल कलेजले आफ्ना सम्भावित विद्यार्थीका लागि तयार गरेको किटमा लण्डनमा बसोबास गर्न प्रति व्यक्ति प्रति महिना १ हजार ३०० देखि १ हजार ४०० पाउण्ड लाग्ने उल्लेख छ । तर सेयरिङमा बसेमा भाडा कम पनि हुन सक्छ र अन्य खर्च व्यक्तिको व्यवहारमा निर्भर हुन्छ ।

दलालको ठगीमा नपरौँ

‘बेलायतमा हजारौँ नर्सहरुलाई रोजगारीको अवसर’ जस्ता शीर्षकमा केही महिनादेखि नेपाली मिडियामा समाचारहरु आउन थालेपछि बेलायतमा रहेका नेपाली नर्सहरुको संस्था नेपलिज नर्सिङ एसोसिएनलाई पिरोलेको छ । यसका बारेमा दिनहुँ जिज्ञासाको ओइरो लाग्ने गरेको छ । एसोसिएनको चिन्ता छ कतै यसलाई दलालहरुले ठगीको माध्यम पो बनाउने हुन् कि भनेर । एसोसिएसनका अध्यक्ष गौतम भन्छिन्, “बेलायतले नेपालबाट नर्सहरु ल्याउने बारेमा शुक्रबार (जनवरी १४) बल्ल पहिलो बैठक हुँदैछ तर नेपालमा केही महिनाअघि नै आजै बेलायत लगिहाल्ने जस्तो गरी प्रचारप्रसार गरियो ।”

उनका अनुसार यस्तो हल्लाका पछाडी नलागी वास्तविकता अवगत गराउन एसोसिएनले बेलायतका सरोकारवाला स्वास्थ्य मन्त्रालय, नेपाली दुताबास लण्डन, बेलायती दुताबास काठमाडौँ लगायतका निकायहरुमा पत्राचार गरिसकेको छ । जनस्वास्थ्य इङ्गल्याण्डसित बैठक पनि भइसकेको छ । सो बैठकमा सहभागी एसोसिएनका एक पदाधिकारीका अनुसार जनस्वास्थ्य इङ्गल्याण्डका एक अधिकारीले नेपाली मिडियामा यस बारेमा समाचार लेखेर आफू अचम्भित भएको बताएका थिए । एसोसिएसनले यस प्रक्रियाका बारेमा विस्तृतमा जानकारी दिन जनवरी २३ मा एक पत्रकार सम्मेलन आयोजना गरेको छ ।

एसोसिएनका पूर्व अध्यक्ष सिम्खडाको अनुभवमा अहिले पनि नेपालबाट नर्सहरुलाई केयरर बनाएर बेलायत ल्याउने एजेन्सीहरुको कमी छैन । “प्रतिव्यक्ति ७ लाखदेखि १९ लाख रुपियाँसम्म लिएर नर्सहरुलाई केयररका रुपमा बेलायत ल्याएको पाएका छौँ” उनले भने । पछिल्लो तीन/चार महिनामा मात्र करिब १०० जना नर्सहरुलाई केयररका रुपमा बेलायत ल्याएको आफूले पाएको उनले बताए । बेलायतमा काम खोजिदिएवापत पैसा लिन पाइँदैन त्यस्ता एजेन्सीहरुले अन्य शीर्षकमा मोटो रकम असुली गर्ने गरेका छन् । बेलायतमा आएर त्यसरी ठगिएका दुःख पाएका नर्सहरुलाई एसोसिएसनले विभिन्न किसिमको मद्दत गर्ने गरेको छ ।

आफूले हेरेको एउटा केसको उदाहरण दिँदै सिम्खडा भन्छन्, “एक जना नर्सलाई बेलायतमा केयररका रुपमा ल्याइएको रहेछ । चार महिनासम्म उहाँलाई तलब पनि दिइएको रहेनछ । बैँक खाता समेत खोलिएको रहेनछ । तलब नेपालमा बाबाआमालाई दिन्छौँ भनिएको रहेछ । उहाँलाई दिइएको सम्झौता पत्रअनुसार बेलायतको श्रम अदालतमा मुद्दा पनि हाल्न नमिल्ने रहेछ ।”

“उहाँको केस मोडर्न डे स्लेभरी (आधुनिक समयको दासता) को सबै मापदण्डसित मेल खान्थ्यो” उनले थपे ।

बेलायतमा भूतपूर्व गोरखाहरु त अंग्रेजी भाषाको ज्ञानको अभावले, प्रविधि चलाउन नजानेर ठगिएको पाउनु स्वाभाविक लाग्छ तर नेपालका अंग्रेजी माध्यमका विद्यालय, कलेज पढेका, स्टाफ नर्सका रुपमा काम गरिसकेका र प्रविधिसँगै हुर्केका नर्सहरुसमेत बेलायतमा ठगीको शिकार बनिरहेका छन् ।

एसोसिएसनकी अध्यक्ष गौतम भन्छिन्, “वर्षौँअघि हामी एजेन्सीबाट युके आउँदा जसरी ठगिएका थियौँ त्यो अहिले पनि रोकिएको रहेनछ । ठगीका केस कति छन् कति ? त्यसका बारेमा सम्बन्धित निकायमा लेखेका पनि छौँ ।”

बेलायत आउन एक पैसा लाग्दैन

बेलायतमा आउने नेपाली नर्सहरुले दुःख नपाउन् र आएको दिनदेखि नै आफ्ना अधिकारहरु पाउन् भनेर एसोसिएनले काम गरिरहेको पूर्व अध्यक्ष सिम्खडा बताउँछन् ।

वर्तमान अध्यक्ष गौतम अहिले एसोसिएसनले हरेक महिनाको अन्तिम शनिबार बिहान १० बजे नेपलिज नर्सिङ एसोसिएसनको फेसबुक पेजबाट नेपालबाट बेलायत आउन चाहने नर्सहरुका लागि वेविनार आयोजना गर्ने गरेको बताउँछिन् । यसका साथै फेसबुक म्यासेन्जर, इमेलबाट पनि जिज्ञासाहरुको उत्तर दिने गरेको उनले थपिन् । “हामी नर्सहरु एकजुट भयौँ भने काम गर्न सजिलो र प्रभावकारी हुन्छ, त्यसैले म बेलायतमा रहेका सबै नर्सहरुलाई हाम्रो सदस्यता लिन पनि अनुरोध गर्दछु” उनले भनिन् ।

नर्सिङ पेशामा विदेशको अनुभव लिन चाहनेहरुका लागि बेलायतमा राम्रो अवसर भएको गौतमको बुझाइ छ । किनकि बेलायतमा नर्सिङ पेशालाई उच्च सम्मान दिइन्छ र सर्वसाधारणको यस पेशाप्रतिको बुझाइ पनि सकारात्मक छ । नेपालमा नर्सिङको अध्ययन र नेपाल नर्सिङ काउन्सिलमा दर्तापश्चात बिना अनुभव पनि बेलायत आउन सकिने उनी बताउँछिन् । यसका लागि ओभरसिज इंग्लिस टेष्ट (ओइटी) वा आइएलटिसमा तोकिएको अंक ल्याएपछि नेपालबाटै बेलायतको नर्सिङ एण्ड मिडवाइरी काउन्सिल (एनएमसी) मा अस्थायी पर्सनल आइडेण्टीफिकेसन नम्बर (पिन)का लागि आवेदन गर्न सकिन्छ । त्यस्तो पिन प्राप्त भएपछि स्पोन्सर खोजेर बेलायत आउन सकिन्छ । बेलायत आएपछि अब्जेक्टिभ स्ट्रक्चरल क्लिनिकल एक्जामिनेसन (ओस्की) पास गरेर स्थायी पिन नम्बर प्राप्त हुन्छ । त्यसपछि नर्सका रुपमा काम गर्न सकिन्छ । यो बाटोबाट गतवर्ष मात्र ४५ जना नर्सहरु नेपालबाट बेलायत आएको एसोसिएनको आँकलन छ ।

गौतम भन्छिन्, “कतिपय स्पोन्सरहरुले अंग्रेजी भाषको जाँच दिँदा लागेको खर्च, हवाइजहाजको टिकटको पैसा फिर्ता गरिदिने मात्र होइन बेलायतमा बसोबासको प्रबन्ध समेत गरिदिन्छन् । एक पैसा खर्च नगरी बेलायत आउने यस्तो बाटो हुँदाहुँदै किन दलालको पछि लागेर लाखौँ पैसा खर्च गर्नु ?”

बेलायतमा अहिले करिब ५० हजार नर्सको खाँचो रहेको उल्लेख गर्दै उनी भन्छिन्, “नेपालबाट बेलायत आउन चाहने नर्सहरुले विदेश जान हतार गर्नु पर्दैन । आत्तिनु पर्दैन । नेपालमा सबै तयारी गर्नु, सबै सूचना एनएमसी (नर्सिङ एण्ड मिडवाफरी काउन्सिल) को वेभसाइटमा छ । केही अस्पष्ट भएमा हामी सहयोग गछौँ ।”

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित