५ पालिकामा अग्रता लिएका मेयरका स्वतन्त्र उम्मेदवारहरु को को हुन् ?

५ पालिकामा अग्रता लिएका मेयरका स्वतन्त्र उम्मेदवारहरु को को हुन् ?
www.europenepalikhabar.com २०७९ जेठ २ गते सोमबार, 16-05-2022


काठमाडौं महानगरसहित पाँच पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्।

काठमाडौंबाहेक धनगढी, जनकपुर, बर्दिवास र झापाको कन्काई नगरपालिका स्वतन्त्रका मेयर उम्मेदवारले अग्रता लिएका हुन्।

यीमध्ये काठमाडौं महानगरमा बालेन शाह र धनगढीका मेयर उम्मेदवार मात्र कुनै पार्टीका बागी नभई स्वतन्त्र उम्मेदवार उठेका हुन्।

जनकपुर, बर्दिवास र कन्काईका स्वतन्त्र मेयर उम्मेदवार भने नेपाली कांग्रेसका बागी हुन्।

बालेन आफ्ना निकटतम प्रतिद्वन्दीभन्दा २९६४ मतले अघि छन्। उनले ६२०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३२४३ मत ल्याएका छन्।

धनगढीका स्वतन्त्र मेयर उम्मेदवार हमालले २४८२ ल्याएर अग्रता लिएका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार नृप वडले १४८७ मतका साथ उनलाई पछ्याइरहेका छन्। वड यसअघि धनगढीका मेयर थिए।

जनकपुर उपमहानगरपालिकामा पनि स्वतन्त्र मेयर उम्मेदवार मनोज साह आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा १५ सय ८७ मतले अघि छन्। सत्ता गठबन्धनले तालमेल गर्दा जनता समाजवादी पार्टीलाई मेयर दिने भएपछि नेपाली कांग्रेसबाट मेयरका दाबेदार साह बागी उम्मेदवार उठेका थिए।

पछिल्लो मतगणना अनुसार उनले २६३६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शिवशंकर साह हिराले १०४९ मत पाएका छन्। जनकपुरमा तेस्रो स्थान ल्याइरहेका अर्का उम्मेदवार पनि स्वतन्त्र छन्। स्वतन्त्र मेयर उम्मेदवार बलराम महतोले ६६२ मत ल्याएका छन्।

त्यस्तै  महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारले मेयर र उपमेयर दुवैले अग्रता लिएका छन्। मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लाद छेत्रीले ४३७६ मत ल्याएका छन्। गठबन्धनले मेयर नेकपा माओवादीलाई दिएपछि कांग्रेसबाट मेयरको दावेदारी गरिरहेका उनी बागी उठेका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा माओवादीका राजु खड्काले २०१८ मत पाएका छन्। उपमेयरमा पनि स्वतन्त्र उम्मेदवार तारादेवीले २८२५ मत ल्याएकी छन् भने माओवादीकी कृष्णमाया गौतमले १९०३ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।

झापाको कन्काइ नगरपालिकामा पनि कांग्रेसबाट मेयरको टिकट नपाएपछि बागी उठेका शेरबहादुर  थापाले निकटतम प्रतिद्वन्द्वीभन्दा २०४ मतले अघि छन्। उनले ३७७७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र कुमार पोखरेलले ३५७३ ल्याएका छन्।

यहाँ नेपाली कांग्रेसका मेयर उम्मेदवार रूद्रप्रसाद चिमरियाले २१११ ल्याएर तेस्रो स्थानमा छन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित