युरोपको यो सहरमा साइकलसँग बचेर हिँड्नुहोला

www.europenepalikhabar.com २०७९ कार्तिक १९ गते शनिबार, 5-11-2022


- डा. राजुबाबु श्रेष्ठ

‘यो सहरमा साइकलसँग बचेर हिँड्नुहोला। साइकल लेनको ख्याल गर्नुहोला। निकै हतारमा हुन्छन् यहाँका साइकलेहरू।’ हामीलाई सिटीमा छाड्नुअघि ड्राइभर जर्जले माइकबाट सचेत गराएका थिए। 

उसको कुरोले मेरो मनको कुनामा एउटा अजिब कौतूहल जन्माएको थियो। सहरमा रेल, बस, ट्राम, गाडी र पकेटमारबाट बच्नु भनेको त बारम्बार सुनेकै हो तर साइकलबाट बच्नु है भनेको पहिलो चोटि सुन्दै थिएँ। आम्स्टर्डमको सेन्ट्रल स्टेसन नजिकैको चोकमा हामीलाई छाडेर होटलतर्फ लाग्यो जर्ज।

बिहान नौ बजेको थियो। घाम लागे पनि चिसो हटिसकेको थिएन। हाम्रो सिटी टुर गाइड समिरा सोरैयासँग साढे नौ बजे भेट्ने समय निधो भएकाले आधा घण्टाका लागि हामी सबै आफूखुसी स्टेसन वरपर छरियौ। हामी रहेको चोकको उत्तर साइडको नहरमा बीस पच्चीस जना अटाउने थुप्रै सानासाना घरजस्ता बोटहरू थिए। किनारामा बोटको टिकट पाइने एउटा टिकटघर थियो। नहरको दक्षिण दिशामा थियो ठूलो, फराकिलो र व्यवस्थित सडक। सडकको दुवैतर्फ फुटपाथसँगै  थिए, रातो कलरको साइकल लेन। सडकको सवारीभन्दा साइकल लेनमा साइकलको चाप बढी देखिन्थ्यो। के बच्चा, के बूढा, के युवा सबै साइकलमा हुइँकिइरहेका थिए। सुट-पाइन्ट-टाई लगाएर साइकलमा कुद्नेहरू पनि देखिन्थ्यो। न धुलोको डर, न धुवाँको चिन्ता। जर्जले भनेझैँ साइकलहरू तँछाडमछाड गरी तीव्र गतिमा कुदिरहेका थिए।

चोकको चारैतिर बनेको साइकल स्ट्यान्डमा खचाखच थिए, साइकल। नहरसँग टाँसिएर बनेको थियो विशाल तीनतले साइकल पार्किङ भवन। सो भवनको तीनै तलामा भरिभराउ थियो साइकल। 

सेन्ट्रल स्टेसनबाट छुटिरहेका ट्रेन, मुख्य सडकमा गुडिरहेका बस कार, नहरमा तैरिँदै गरेका रङरङका पानीजहाजहरूभन्दा पनि साइकल लेनमा कुदिरहेका साइकलले मेरो सम्पूर्ण ध्यान खिचिरहेको थियो। मैले यति धेरै साइकल टोकियोमा पनि देखेको थिइनँ। जापान पुग्दा संसारमा सबैभन्दा बढी साइकल यात्रा जापानीले गर्छन् जस्तो लागेको थियो। तर आम्स्टर्डमको साइकलमोह देखेपछि मेरो दृष्टिकोण फेरियो। आम्स्टर्डम उत्रेपछि मैले  सबैभन्दा बढी देखेको सवारी नै साइकल थियो। सडक किनारामा जताततै बनेका साइकल स्ट्यान्डहरू, साइकल लेनमा रहेको साइकलको चाप र सबै उमेरका व्यक्तिमा देखिएको साइकलमोहले साइकल आम्स्टर्डमवासीको जीवनशैली बनेको प्रस्ट बुझ्न सकिन्थ्यो।

ठीक साढे नौ बजे समिरा आइपुगिन्।  न एक मिनेट छिटो, न ढिलो। समयको पक्का। ‘नमस्ते नेपाली साथीहरू। म समिरा सोरैया। तपाईहरूको गाइड। सगरमाथा र बुद्धको देशबाट आउनुभएका तपाईहरुलाई आम्स्टर्डममा स्वागत छ’, समिराले मुस्कुराउँदै आफ्नो परिचय दिइन्। 

निकै व्यावसायिक र हँसिली रहिछन्। उनको पहिलो बोलीले नै लट्ठ पार्‍यो हामीलाई। उनले बुद्ध र सगरमाथाको नाम लिनासाथै छाती गर्वले ढक्क फुल्यो। कताकता समिरासँग निकटता महसुस भयो। एउटै वाक्यले हामी सबैलाई आफ्नो बनाउन भ्याइन्।‘हाम्रो नेदरल्यान्डमा मान्छेभन्दा साइकल बढी छन्। जनता सत्र मिलियन, साइकल बीस मिलियन। साइकलहरू निकै स्पिडमा आउँछन्। त्यसैले यी रातो रङको साइकल लेनमा नबस्नुहोला। साइकलले ठोकिदिएर घाइते भएका धेरै घटना छन् यहाँ’, उनले पनि जर्जले जस्तै सुरुमै साइकलसँग सजग रहन  सचेत गराइन्।

चिसो सिरेटोले फर्फराएको कपाल सम्झेर आनन्दित हुन्छु। काठमाडौँलाई पनि त्यस्तै साइकल सिटी बनाउने सपना जिस्क्याउन आइपुग्छ घरिघरि।

उनको कुरो सुन्दा आश्चर्य लाग्यो। मान्छेभन्दा बढी साइकल ? साइकलबिना त कसैको जीवन नै नचल्ला जस्तो। साइकल सूचनापछि उनले हामीलाई आफ्नो पछिपछि आउन आग्रह गर्दै सेन्ट्रल स्टेसनतर्फ लागिन्। सहरको  बिचोबीच भागमा रहेको यो स्टेसन मुख्य नहरको किनारैमा रहेछ। निकै ठूलो क्षेत्रफलमा फैलिएको यस स्टेसन आम्स्टर्डमलाई देशभर जोड्ने महत्वपूर्ण यातायात केन्द्रको रूपमा स्थापित रहेछ। दिनमै लाखौँ यात्रीले यात्रा गर्ने यस स्टेसनलाई सहरको रक्त सञ्चार गराउने मुख्य केन्द्रभन्दा पनि फरक नपर्दो रहेछ। समिराले केही समय यसैको परिचय दिन खर्चिइन् शब्दहरू। त्यसपछि सुरु भयो पैदल सिटी टुरको सिलसिला। हामी सबै एकै उमेरको नभएकाले सबै समिरासँग फटाफट हिँड्न सक्ने अवस्थाका थिएनौ।

हाम्रो समूहमा हिँड्दा हिँड्दै यो कुरा समिराले बुझिसकेकी थिइन्। त्यसैले केही बेरको हिँडाइपछि सहरको चोक, पुल, वा कुनै हेर्नलायक भवन भेटिनासाथ रोकिन्थिन्। त्यसबारे केही बताउँथिन्। सहरको जताततै थियो नहरै नहर। पुलै पुल। सडकै सडक। रूखै रूख। कति सफा। कति स्वच्छ। कति सुन्दर। कति व्यवस्थित। जति हेर्‍यो हेरूँ हेरूँ लाग्ने अत्यन्तै मनमोहक।  

सहरमा बस, कार, ट्राम सबै उपलब्ध भए पनि मान्छेको आकर्षण साइकलमै देखिन्थ्यो। के ठूलो के सानो, के धनी के गरिब सबैमा गज्जबको साइकलप्रेम थियो। हामी भने अझैसम्म साइकल चलाउनेलाई गरिब र कमजोर ठान्ने मानसिकताबाट माथि उठ्न सकिरहेका छैनौ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित