संखुवासभामा स्कुल नटेकेकी लाक्पाको अमेरिकी हार्वर्ड विश्वविद्यालयमा प्रवचन

संखुवासभामा स्कुल नटेकेकी लाक्पाको  अमेरिकी हार्वर्ड विश्वविद्यालयमा प्रवचन
www.europenepalikhabar.com २०७९ चैत ५ गते आइतबार, 19-03-2023

युरोपनेपाली खबर ।

संखुवासभाको मकालुमा जन्मिएकी लाक्पा शेर्पाको बाल्यकाल उच्च हिमाली क्षेत्रको प्रकृतिसँग लुकामारी गरेर बित्यो । चीनसँग सीमा जोडिएको पूर्वी नेपालको विकट हिमाली जिल्लामा अहिलेको जस्तोे हातहातमा मोबाइल फोन थिएन । टेलिभिजन र इन्टरनेट त कल्पनाभन्दा धेरै परका कुरा । 

विद्यालय जानुपर्ने बाध्यता थिएन, उनलाई । त्यतिबेला गाउँमा पढ्नुपर्छ भन्ने पनि थिएन । त्यसैले दशपटक सगरमाथाको चुचुरोमा पाइला टेकेर सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएकी महिला आरोही लाक्पाको बाल्यकाल भिरपाखामा चौँरी धपाएर बित्यो ।

गोठालो जाँदा हिमालको काँखमा उफ्रने नाउर,  झारल, च्याङ्ग्रा र जंगली जनावरसँग रमाइन् । अहिलेजस्तो फोटो खिचेर आर्काइभमा राख्न न हातमा मोबाइल थियो, न क्यामेरा । समय कटाउन एउटा हिमालबाट उडेको चरा अर्को हिमालको टुप्पोमा नपुगुञ्जेल आँखा झिमिक्क नपारी हेरिरहन्थिन् । हिमाली दृश्य धित नमरुञ्जेल आँखामा कैद गर्नु उनको दैनिकी थियो ।

सधैँजसो एक्लै लखरलखर हिमालतिर हिँडेको देख्दा आमाबाबुलाई लाग्थ्यो, 'अब यसलाई जंगलमा चितुवाले मारेर खाने भयो ।' उनको ओठे जवाफ हुन्थ्यो, 'खाए पनि ठीकै छ त, तिम्रा धेरै सन्तान छँदैछन् । मलाई खाए नि केही फरक पर्दैन । '

'मेरा ती दिनहरू त क्यामेराम्यानले लाइभ नेसनल जियोग्राफिक च्यानलका लागि रेकर्डिङ गरेजस्तै थिए । म नाङ्गो आँखाले जनावर हेरेरै रमाउँथे,' सगरमाथा दशौँपटक आरोहण गरेर काठमाडौं फर्किएपछि एक अन्तर्वार्ताका क्रममा लाक्पाले भनेकी थिइन्, 'ती दिनको सम्झना अहिले पनि झलझली आउँछ ।' 

उमेर छिप्पिँदै गए पनि बाल्यकालको सम्झनाले सात समुद्रपारि संघर्षरत लाक्पाको भौतिक शरीरलाई घरीघरी पुर्ख्यौली गाउँ मकालुको पाखामा पुर्‍याइरहन्छ ।

लाक्पाका पिताले भेडा पालेका थिए । कहिल्यै विद्यालय नगए पनि गैर–शेर्पा साथीहरूको सहयोगका कारण नेपाली बोल्न, लेख्न र परेको बेला तमसुक लेख्ने काम गर्न सक्ने भएका थिए । हरेक दसैँमा उनका साथीहरू च्याङ्ग्रा किन्न आइपुग्थे । उनी च्याङ्ग्रा किन्न आएकाहरूलाई मीत बनाउँथे । मित्रतालाई प्रगाढ बनाउन चौँरीको पुच्छर उपहार दिएर पठाउँथे । व्यापार राम्रै चलाइरहेका थिए । पछि मकालु क्षेत्रमा पहिलो चिया पसल र गेस्ट हाउस चलाउने उनी नै भए । 

गाउँमा धेरै छोराछोरी हुने व्यक्ति धनी कहलिन्थ्यो । कारण, धेरै छोराछोरी भए खेतीपातीको काम गर्न अरु कसैसँग पर्म गर्नुपर्दैनथ्यो । सोही कारणले हुन सक्छ उनकी आमाले सात छोरी र चार छोरा गरी ११ जनालाई जन्म दिइन् । तीमध्ये पाँचौँ नम्बरमा जन्मेकी लाक्पाले विद्यालयको आँगन कहिल्यै टेक्न पाइनन् । उनका भाइ मिङ्मा गेलु जसोतसो संखुवासभाको सदरमुकाम खाँदबारीमा डेरामा बसेर पढ्न भ्याए । तर, लाक्पालाई विद्यालय नगएकोमा केही छुटेजस्तो पनि लागेन ।

लाक्पा अलि ठूली भइसकेपछि गाउँबाट तीन घण्टा पैदल दूरीमा विद्यालय स्थापना भयो । उनीपछिका तीन बहिनीहरू विद्यालय जान त गए, तर उनीहरूको पढाइ नेपाली अक्षर चिनेर मात्र सकियो । एक/दुई कक्षाभन्दा माथि उक्लिन सकिनन् । लाक्पालाई भने अहिले आएर सानैमा अक्षर मात्र चिन्न सके पनि जिन्दगीमा धेरै फरक पर्दोरहेछ भन्ने लागेको छ । यो ज्ञान उनलाई आफ्नै बहिनीहरूलाई देखेर आएको हो ।

साक्षर भएकै कारण उनका एक जना बहिनी अमेरिका र अर्को फ्रान्समा सेटल भए । अरु बाँकी नेपालमा छन् । उनीहरूले पनि हैसियतअनुसार राम्रै गरिरहेका छन् । ती सबैका श्रीमान्‌ ट्रेकिङ व्यवसायमा छन । पढेकै कारण उनका भाइ मिङ्मा गेलु सेभेन समिट क्लब नामक एक्सपिडिसन कम्पनी चलाउँछन् । 

'खासमा मेरो बुबाले कहिले पनि गाह्रो काम गर्नुभएन । माला र बाँसबाट बनेको लिम्बू बाजा बेच्नुहुन्थ्यो । त्यो बाजा राई र लिम्बू महिलाले खुब बजाउँथे,' उनले मकालुको बाल्यकाल सम्झिइन् ।

घरमा खेतीपातीबाहेक उनलाई अरु काम र पढाइको केही तनाव थिएन । औसत नेपाली महिलाभन्दा अग्ली भएकाले कोदालो खन्न र खेतीपातीको काम गर्न त्यति अभ्यस्त थिइनन् । जसले गर्दा उनी प्रायःजसो च्याङ्ग्रा र चौरी लिएर लेकतिर उक्लिरहन्थिन् । सधैँजसो एक्लै लखरलखर हिमालतिर हिँडेको देख्दा आमाबाबुलाई लाग्थ्यो, 'अब यसलाई जंगलमा चितुवाले मारेर खाने भयो ।' उनको ओठे जवाफ हुन्थ्यो, 'खाए पनि ठीकै छ त, तिम्रा धेरै सन्तान छँदैछन् । मलाई खाए नि केही फरक पर्दैन । '

छोरीको जवाफले चित्त नबुझेर आमाले उल्टै थर्काउँथिन् । 'तँ अल्छी । अग्ली केटी । काम गर्न सक्दिनस्, केटा कुट्दै हिँड्छेस् । तेरो कुनै केटासँग पनि बिहे हुँदैन । अब मैसँग झगडा गरेरै घरमा बस्ने त होलिस् नि ?' अग्ली भएकीले यतीको उपमा दिएर लाक्पालाई उनकी आमाले सधैँजसो धम्क्याउने भाषा थियो, यो । अहिले उनलाई मध्यम कदका केटाहरूले आफ्नै हाराहारीकाे उचाइ भएका खेतबारीमा काम गर्ने केटी मन पराउने भएकाले अग्लो ज्यानबारे चिन्ता व्यक्त गरेकी हुन् किजस्तो लाग्छ । 

अरु आरोहीजस्तो आधार शिविरमा वातानुकूलित हुन र आरोहण अभ्यास गर्ने समय उनलाई हुँदैन । सिधै आएर आरोहणमा जुट्छिन् । आरोहण सकिन्छ, अनि कर्मथलो अमेरिका फर्किन्छिन् ।

अनेक धम्कीको पर्वाह नगरेर उनी आफ्नो मनमौजी बाल्यकाल बिताइन् । मकै, जौ, गहुँ उत्पादन हुने उर्वर मकालु हिमालको काखमा खेतीपातीको काममा कहिलेकाहीँ सघाइन् । मन परेको बेला कोदाली खन्नुको साटो हलो जोतिन्, जुन त्यतिबेला महिलाका लागि वर्जित थियो । दाइहरूले गर्ने सबै किसिमका घरायसी काम निर्धक्क गरिन् । अनेक हन्डर ठक्कर खाएर अमेरिका पुगेपछि उनलाई त्यतिबेलाको व्यवहार त ठ्याक्कै टम ब्वाईसँग मेल खाने रहेछ । त्यतिबेला गाउँमा उनको जस्तो मनमौजी हिँड्ने टम ब्याईजस्ता केटीहरू औँलामा गन्ने थिए । ती टम ब्वाईजस्ता लाग्ने अमेरिकीहरू उनका हाइकिङ साथी भएका छन् । 

'अहिले त काठमाडौंमा पनि टम ब्वाईजस्ता लाग्ने केही केटीहरू देख्न सक्छु,' समाज खुला हुँदै गएकोमा खुसी व्यक्त गर्दै उनले भनिन्, 'यस्तो देख्दा मेरो मन कम्ता खुसी हुँदैन ।'

युवा अवस्थामा प्रवेश गर्दै गरेकी लाक्पाले खेतीपातीप्रतिको मोह त्यागिन् । विदेशी पर्यटक र आरोहीको भरिया भएर काम सुरु गरिन् । भरियाको जागिर सुरु गरेर निस्फिक्री हिमालतिर डुल्न थाल्दा भर्खर १३ वर्षमा टेकेकी थिइन् । '१३ वर्षको हुँदो हुँ म त्यतिबेला । मैले मकालु हिमालको पहिलो शिविरको ब्लु आइस पनि जुत्ताबिनै टेकेकी छु,' उनले त्यतिबेलाका दुःख सम्झिइन् ।

अहिलेको जस्तो फेन्सी जुत्ता नभए पनि सबै विदेशी जुत्ता लगाएका हुन्थे । भरिया र गाइडको रूपमा काम गर्ने शेर्पाहरू भने खाली खुट्टै भारी ओसार्ने काम गर्थे । केही वर्षसम्म भरियाको रूपमा काम गरिन् । चिसो हिमाली वातावरणमा हुर्किएकाले उनी खाली खुट्टा ब्लु आइसमा पनि सहजै हिँडिन् । सगरमाथा आरोहण गर्दा पनि अन्य आरोहीले जस्तो टाउको छोपिरहन पर्दैन उनलाई ।

करिब दुई वर्षजति विदेशीको भरिया भएर काम गरेपछि हिमालको काममा उनको प्रमोसन भयो । १५ वर्षको उमेरमा उनी किचेन ब्वाई भइन् । काम सहज थिएन । आरोहणको बेला शिविरमा लसुन, प्याज, आलु, प्याज र अन्य खानेकुराको व्यवस्था गर्ने, पकाउने र खुवाउने उनको जिम्मेवारी थियो । कति पुरुषले ‘खराब केटी’ भनेर जिस्क्याउँथे । ट्रेकिङमा लागेर विदेशीको अघिपछि हिँडेको धेरैलाई मन पनि परेको थिएन । 'यो कस्ती खालको केटी हो ?' भनेर अक्सर गाउँलेहरू उनको कुरा काट्थे ।

कसैको प्रश्नले उनको यात्रा रोकिएन । आरोहणको बेला महिनाभर आरोहण शिविरको किचेनमा काम गरेको ५० डलर पाइन्थ्यो । केही रकम आफ्नै लागि खर्च हुन्थ्यो, बचेको पैसा आमाबुबालाई दिन्थिन्, बहिनीहरूलाई चक्लेट किनेर खुसी साट्थिन् । आफैँ पैसा कमाएर खान सक्ने भएपछि उनलाई गर्वको महसुस हुन थाल्यो । 

किचेन ब्वाईको रूपमा काम गरिरहेको बेला हिमाल आरोहणमा लागिन् । घरको आँगनबाट देखिने सेताम्य मकालु र सगरमाथा हिमाल चढ्ने उनको बाल्यकालदेखिको सपना थियो, जुन मेरा पिक आरोहणबाट सुरु भयो । 

ट्रेकिङ भरिया र साना हिमालको आरोहणपछि उनी काठमाडौंसम्म पुग्न थालिन् । नयाँ बजारमा सानो कोठा लिएर बसिन् । त्यहाँ पनि संखुवासभाबाट अरु धेरै शेर्पा दाजुभाइलाई ल्याएर भारी बोकाउने काममा लगाइन् । तीमध्ये मकालुको चौँरी गोठमा लाक्पा शेर्पासँग दिन बिताएका मिङ्मा शेर्पा पनि एक थिए । अहिले सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा पनि लाक्पाको पदचाप पछ्याउँदै काठमाडौं आएका थिए, भरियाको रुपमा काम गर्न । यहाँ आएर पनि लाक्पासँगै बसे । लाक्पाले काम नपाएको बेला सानो भट्टी चलाएर पनि जीविका चलाइन् । 

'त्यतिबेला हामी लाक्पा दिदीसहित ६–७ जना एउटा सानो कोठामा बस्थ्यौँ । काठमाडौं हाम्रा लागि नयाँ ठाउँ थियो,' मिङ्माले सुरुवाती चरणका दुःख सम्झिए, 'दिदीको एउटा सानो भट्टी पनि थियो । दिदी त हामीलाई बाटो देखाउने अगुवा हुनुहुन्थ्यो ।'

हिमाल आरोहण लाक्पाको रगतमा थियो । सोही क्रममा उनको संगत हिमाल आरोहणमा रहेका चर्चित शेर्पाहरूसँग हुन पुग्यो । तीमध्ये सन् १९९९ मा सगरमाथा शिखरमा अक्सिजनबिना २१ घण्टा बिताएर विश्व कीर्तिमान बनाएका बाबुछिरी शेर्पाले उनलाई आरोहणमा ढाडस दिए । आरोहणमा लाग्न प्रेरित गरे ।

उत्साहित लाक्पाले सन् २००० मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालालाई भेटेर महिला आरोहण दलका लागि सगरमाथा जाने प्रस्ताव राखिन् । यसअघि सन् १९९३ को वसन्त ऋतुमा सगरमाथाको शिखरमा पुगेर फर्कने पहिलो नेपाली महिलाको रेकर्ड बनाएकी पासाङ ल्हामु शेर्पा आधार शिविरमा पुग्न पाइनन् । फर्कने क्रममा उनको ज्यान गयो । 

पासाङ ल्हामुको मृत्युको खबर धेरै महिला पर्वतारोहीलाई निरुत्साहित गर्ने खालको थियो । तर पनि लाक्पा शेर्पा आँट गरेर सात जना महिला आरोही दल तयार गरेर सगरमाथा आरोहणमा निस्किइन् । शिखरमा पुग्ने दिनमा लाक्पाबाहेकका सबै बिरामी भएर आधार शिविर फर्किए । भाग्यवश, सन् २००० मे १८ का दिन बिहान ६ बजेर ३० मिनेट जाँदा उनी सगरमाथाको शिखरमा पाइला टेक्न सफल भइन् ।

भरिया बन्न हिँडेकी लाक्पाले सगरमाथा चढिसकेपछि बाहिरी संसारसँग साक्षात्कार हुने अवसर पाइन् । रोमानियाका नागरिकसँग विवाह गरिन् । अमेरिका पुगिन् । त्यहीँ दुई छोरी पनि जन्माइन्, हुर्काइन् । दुःखसँग सानैदेखि अभ्यस्त उनको वैवाहिक सम्बन्ध सोचेजस्तो भएन । श्रीमान्‌को व्यवहारका कारण छुट्टिएर बसिन् । छोरी हुर्काउने काम आफैँले गरिन्, जुन काम पढाइलेखाइ राम्रो नभएकी एक महिलाका लागि कम चुनौतीपूर्ण थिएन । उनले अमेरिकामा अरुको घर सफाइ गर्नेदेखि हाइकिङ गाइडसम्मका पाएका सबै काम गरिन् ।

चुनौतीका बाबजुद उनले सन् २००१, २००३, २००४, २००५ र २००६ वसन्त ऋतुमा सगरमाथाको आरोहण गरिन् । सन् २०१४ मा आएको हिमपहिरोमा परेर १६ जना शेर्पाको आइसफलमा परेर ज्यान गुमाएकाले उनीहरूको शोकमा आरोहण स्थगित भयो । अर्को वर्ष भूकम्पका कारण आएको हिमपहिरोमा परेर १९ जना आरोहीको मृत्युले आरोहण रोकियो । दुई ठूला हिमाली दुर्घटनामा उनले चिनेका, संगत गरेका शेर्पाहरू पनि परेका थिए । 

त्यसयता उनलाई हिमाल एक सुन्दर दरबार लाग्न थालेको छ, जहाँ कुनै समय वा सधैँजसो केही न केही दुर्घटना भइरहन्छन् । बाहिर निस्कने सही बाटो नभेट्टाउँदा केहीले दरबारमा झैँ हिमालमा पनि ज्यान गुमाउन सक्छन् ।

हिमपहिरोमा परेर आफ्नै आँखाअगाडि आदर्श मानेका हिमालका नायक शेर्पा दाजुभाइको ज्यान गएकोमा उनी दु:खित थिइन् । डराएकी थिइन् । मनमा धेरै चिसो पसेको त थियो । तर, हिमाल आरोहणको यात्रा रोकिनन् । सन् २०१६, २०१७ र २०१८ मा लगातार सगरमाथाको शिखरमै पुगिन् । सन् २०१९ देखि सुरु भएको विश्वव्यापी कोरोना महामारीका कारण उनको आरोहण सन् २०२१ सम्म प्रभावित भयो । चार वर्षपछि सन् २०२२ मा दुई छोरीलाई पनि आफैँसँग लिएर आरोहणमा आइन् ।

आमासँगै छोरीहरू पनि आधार शिविरमा बसे । आइसफलमा हिँडे । पहिलो शिविरसम्म उक्लिए । अनि दशपटकसम्म शिखरमा पुग्न आमालाई कति मुस्किल भयो होला भन्ने कल्पना मात्र गरेर फर्किए ।

पर्वतारोहण लाक्पाका लागि थेरापिजस्तै बनेको छ । आरोहणको भोकले गर्दा सात समुद्रपारिबाट नेपाल आउँछिन् । हिमालले पनि उनलाई चुम्बकले झैँ आकर्षण गरिरहन्छ

अमेरिकामा हुर्किएका स्पोर्ट्सप्रेमी छोरीलाई विद्यालयमा छुट्टी मिलाएर उनको साथैमा नेपाल ल्याउनुकोे उद्देश्य त्यहाँ ‘पेपर टाइगर’ जस्तो बनाइएका छोरीलाई उनीजस्तै ‘जु टाइगर’ बनाउनु थियो । 

हिमाल चढ्नु आफैँमा चुनौतीपूर्ण काम हो । महिलाहरूलाई झनै चुनौतीपूर्ण रहन्छ । सुरुमा घरपरिवारको स्वीकृति अनि विवाह भएपछि छोराछोरीको माया, पैसाको बन्दोबस्त र बारम्बारका हिमपहिरो तथा भूकम्पका कारण हुने घटनाले धेरैलाई आरोहणमा रोक्छ । लाक्पालाई हालसम्म केहीले पनि छेकेको छैन ।

यो वर्ष उनको छोरीको उमेरका हिमाल चढ्न इच्छुक अरु स्वदेशी र विदेशी युवतीहरूको बेग्लै समूह बनाएर उनीहरूलाई शिखरसम्मै लैजाने कीर्तिमानी आरोही लाक्पाको योजना छ ।

त्यसका लागि पनि आगामी वसन्त ऋतुमा फेरि सगरमाथाको शिखरमा पुग्ने उनको धोको छ । पर्वतारोहण उनका लागि थेरापिजस्तै हो । आरोहणको भोकले गर्दा सात समुद्रपारिबाट होल फुड कम्पनीको जागिर छोडेर नेपाली हिमालमा आउँछिन् । हिमालले पनि चुम्बकजस्तै गरेर उनलाई आकर्षण गरिरहन्छ । त्यसैले हिमाल आरोहण गर्ने सिजनमा हस्याङफस्याङ गर्दै अमेरिकाबाट नेपाल आउँछिन् ।

अरु आरोहीजस्तो आधार शिविरमा वातानुकूलित हुन र आरोहण अभ्यास गर्ने समय उनलाई हुँदैन । सिधै आएर आरोहणमा जुट्छिन् । आरोहण सकिन्छ, अनि कर्मथलो अमेरिका फर्किन्छिन् । होल फुडको आम्दानीले उनका दुई छोरीका लागि पढाइ खर्च र परिवारको जीविका धान्न सघाउँछ । पार्ट टाइम जबजस्तो भएको आरोहण पथप्रदर्शनको नशा उनको रगतमा छ । यसको लत छुट्न सकेको छैन ।

जीवनमा सोचेभन्दा धेरै दुःख पाएको अनुभव गरेकी लाक्पा मिडियाको प्रचारबाट टाढा रहन चाहन्छिन्, आङरिता शेर्पाजस्तै । अक्सिजनबिना दशपटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएका आङरिता विदेशी मिडियाको टोली उनको घर खुम्बु पुग्दा चौँरी लिएर गोठतिर लाग्ने र हप्तौँसम्म घर नफर्किने उनका समकक्षीहरू बताउँछन् । लाक्पा पनि आफ्नो कथा धेरैलाई शेयर गर्नु व्यर्थ ठान्छिन् । हिमाल आरोहणलाई नियमित कामको रूपमा लिने उनी सकेसम्म मिडियाबाट टाढै रहन खोज्छिन् । 

उनले सगरमाथामा पहिलोपटक आरोहण गरेयता २३ वर्षको समयमा धेरै परिवर्तन भइसकेको छ । पहिले हिउँको थुप्रोमा आफूअगाडिको मान्छे पनि नदेखिने सगरमाथा शिविर अहिले हिउँविहीनजस्तै भएको छ । हिउँ पग्लेर आइसफल भएर बग्ने खुम्बु हिमनदीमा पानीको मात्रा बढेर उर्लने भएको छ । फुटबल कोर्ट साइजको आधार शिविर वल्लो कुनाबाट हेर्दा पल्लो कुना प्रस्ट देख्न सकिने भएको छ, हिउँको थुप्राजति सबै पग्लिएका कारण । हिउँ पग्लिएसँगै कैयौँ वर्षपहिले हिमपहिरोमा पुरिएका आरोहीहरूका कंकाल यत्रतत्र देखिन थालेका छन ।

दोस्रो शिविरको हिउँ पग्लिएर धेरै पानीका पोखरी भएका छन् । सगरमाथामा भएको अपत्यारिलो परिवर्तन देखेकी लाक्पाले ठट्टा गरिन्, 'अब यस्तै हो भने दोस्रो शिविरमा त याक नै पुग्छ कि के हो ।'

जलवायु परिवर्तनले आरोहणलाई झन् जोखिमपूर्ण बनाएको छ । हिउँ पग्लिएर चट्टान देखिएका कारण आइस एकस गाड्न मुस्किल हुँदै गएको छ । हिमपहिरोको डर बढेको छ ।

यी सबै परिवर्तनको साक्षी बनेकी लाक्पा आफ्नै रेकर्ड तोड्दै निरन्तर आरोहण यात्रामा छिन् । अहिलेसम्मको आरोहण उनका लागि १० कक्षाको पढाइ पूरा गरेजस्तै लाग्छ । 'मैले ग्र्याजुएसन त गरेकै छैन । त्यसैले म अझै पथप्रदर्शक भएर आरोहण गरिरहने योजना छ,' उनले भनिन् । 

दोस्रो शिविरको हिउँ पग्लिएर पानीका धेरै पोखरी भएका छन् । सगरमाथामा भएको अपत्यारिलो परिवर्तन देखेकी लाक्पाले ठट्टा गरिन्, 'अब यस्तै हो भने दोस्रो शिविरमा त याक नै पुग्छ कि के हो ।'

आगामी वसन्त ऋतुमा सगरमाथा आरोहण गरेलगत्तै केटु हिमाल आरोहणका लागि पाकिस्तान जाने उनको योजना छ । जति नै गाउँघरको सम्झना आए पनि नेपाल लाक्पाका लागि माइतीघरजस्तै हो । अमेरिकाको सेवा सुविधा खासगरी गुणस्तरीय स्वास्थ्यका लागि उनी बाँकी जीवन त्यहीँ बिताउन चाहन्छिन् । भन्छिन्, 'त्यहाँ हामीले पाउने स्वास्थ्य सुविधा त यहाँको राजाले पनि पाउँदैन ।'

सानोमा विद्यालय जान नपाए पनि लाक्पा संगत र अभ्यासका कारण अंग्रेजीमा आफ्ना कुरा राख्न सक्छिन् । उनलाई हार्वर्ड र यएलजस्ता विश्वविद्यालयले प्रवचनका लागि बोलाउँछन् । कति विद्यार्थी वकिलदेखि राष्ट्रपति र प्रतिष्ठित व्यापारीका छोराछोरी हुन्छन् । 'विद्यालय जान नपाए पनि त्यहाँ गएर विभिन्न ब्याक ग्राउन्डका विद्यार्थीसँग बोल्न पाउँदा भाग्यमानी नै महसुस हुन्छ,' लाक्पाले भनिन्, 'कक्षा सकिएपछि योर इङ्लिस इज अर्ग्यानिक भन्दै छुट्टिन्छन् ।'

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित