युरोपनेपाली खबर, २७ अगस्ट, लिस्बन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी १७-२० अक्टोबरमा हुने ११ औं महाधिवेशन र संघको २०२३-२५ कार्यकालका लागि हुने निर्वाचनमा पोर्चुगलका तिलक गैरेले सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली नारी समाज र महिला समाजको आज लिस्बनमा आयोजित संयुक्त एकता अधिवेशनको अवसर पारेर उनले सो पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । गैरे हाल एनआरएनए युरोप क्षेत्रका उपसंयोजक छन् ।
पोर्चुगलमा कृषि व्यवसायमा संलग्न गैरेको कम्पनीमा सयौं नेपाली लगायत विदेश श्रमिकहरु कार्यारत छन् । उनको नेपालमा हाइड्रोपावर र होटल व्यवसायमा लगानी रहेको छ ।
गैरे झण्डै १५ बर्षदेखि संघको अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका छन् । उनले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, लेखा संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् भने हाल युरोप क्षेत्रको उपसंयोजक(DRC)को रूपमा क्रियाशील छन् ।
गैरेले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, "मेरो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छा र हुटहुटीले आगामी महाधिवेशनबाट सन् २०२३-२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवं गैरआवासीय नेपालीको लागि मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिद्नु हुन सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्य र तमाम महाधिवेशन प्रतिनिधिहरुमा विनम्र आग्रह गर्दछु ।"
नम्र र शालीन स्वभावका गैरे सफल व्यवसायी र समाजसेवीको रूपमा सुपरिचित छन् । गैरेले एनआरएनए अग्रज, अभियान्ता, शुभचिन्तक र साथीभाइबाट सहयोग, सद्भाव, समर्थनको विश्वास र अपेक्षा लिएको बताएका छन् ।
FOUNDER/CHIEF EDITOR :