पोर्चुगलमा नेपाली राजदूतावास स्थापनाका लागि संसदीय समितिमा सांसदहरुले उठाए आवाज, कस कसले के के भने ?

पोर्चुगलमा नेपाली  राजदूतावास स्थापनाका लागि संसदीय समितिमा सांसदहरुले उठाए आवाज, कस कसले के के भने ?
www.europenepalikhabar.com २०८० भाद्र २१ गते बिहीबार, 7-09-2023


पोर्चुगल । पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न राजनीतिक तबरबाट तीर्व पहल सुरु भएको छ ।  पोर्चुगलमा बस्ने नेपालीहरुले बारम्बर उठाइरहेको आवाज पछिल्लो समयमा राजनीतिक दलहरुले पनि सुन्न थालेका हुन् । पछिल्लो समयमा राजदूतावास स्थापना गर्न संसद् तथा संसदका विभिन्न समितिमा छलफल सुरु भएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा पोर्चुगलमा राजदूतावास स्थापना गर्नेबारे छलफल भयो । समितिले पोर्चुगलमा नेपाली राजदुतावास स्थापना गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

सो अवसरमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद् छिरिङ ल्यामु लामाले पोर्चुगलमा राजदूतावास नहुँदा त्यहाँ रहेका नेपालीलाई राहदानी बनाउने लगायतका समस्या भएको बताउनुभयो ।

पोर्चुगलमा करिब ६० हजार नेपाली हुँदा पनि दूतावास नहुनु दुःखद भएको भन्दै सांसद लामाले यथाशक्य पहल गर्नुपर्ने बताउनुभयो ।नस्पेन, डेनमार्कमा राजदूतावास भए पनि पोर्चुगलका नेपाली फ्रान्स जानुपर्ने वाध्यता भएको उहाँले बताउनुभयो।

डेनमार्क र स्पेनमा नेपालीको संख्या कम भए पनि राजदूतावास स्थापना गरिएको छ । तर,पोर्चुगलमा नेपालीको संख्या उल्लेख्य हुँदा पनि दूतावास नहुनु चिन्ताको विषय भएको बताउनुभयो ।

यस्तै केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले पनि संसदको शुन्य समयमा बोल्दै पोर्चुगलमा राजदूतावास स्थापना गर्नुपर्ने आवाज उठाउनुभएको थियो ।

पछिल्लो समयमा संसद तथा संसदका समितिहरुमा दूतवासबारे छलफल हुन थालेपछि पोर्चुगलमा बस्ने हजारौं नेपाली उत्साहित भएका छन् ।

पोर्चुगलमा बस्ने नेपालीहरुले लामो समयदेखि राजदूतावास स्थापना गर्न लबिङ गर्दै आएका थिए । तर, धेरैजसो सरकार तथा राजनीतिक पार्टीहरुले प्राथमिकता दिएका थिएनन् ।

अहिले विभिन्न पार्टीका सांसदहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । यसले पोर्चुगलमा बस्ने नेपालीहरुमा आशाको सञ्चार जगाएको छ ।

नेपाल–पोर्चुगलबीच दौत्य सम्बन्ध स्थापनाको झण्डै पाँच दशक पुग्न लागेको छ । पोर्चुगल नेपालीहरुका लागि आकर्षक मुलुक बनिसकेको छ । रोजगारी र व्यापारका लागि हजारौं नेपाली पोर्चुगल रोजाइ बन्ने गरेको छ ।

तर, आधिकारिक निकाय राजदूतावास स्थापना नहुँदा थुर्पै समस्या झेल्दै आएका छन् । धेरै पहिलेदेखि लबिङ गर्दै आएका नेपालीहरु हाल भइरहेका प्रयासहरु सार्थक हुनेमा आशावादी छन् ।

दूतावास स्थापना गर्न सकेमा बहुआयामिक फाइदा लिन सकिने नेपालीहरु बताउँछन् । दूतावास भएमा नेपालीको अभिभावक निकाय हुने, राहदानी जारी तथा नविकरण गर्न सहज हुने छ । अहिले धेरै नेपालीले यस्ता विषयमा समस्या भोग्दै आएका छन् ।

अस्थायी बसोबास अनुमति प्राप्त पछि परिवारलाई ल्याउन पाइने सुविधा उपभोग गर्न भारतको दिल्लीस्थित भिएफएसमार्फत आवेदन दिनुपर्ने वाध्यता छ ।

अनावश्यक खर्च र हैरानीबाट मुक्त हुन नेपालमा पनि पोर्चुगलका लागि भिएफएस काउन्टर स्थापना गर्नुपर्ने यहाँका नेपाली बताउँछन् । यसो हुन सके करौडौं नेपाली रुपैयाँ भारत जान रोकिने छ ।

दूतावास स्थापना भइसकेपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ प्रगाढ हुने र राज्यस्तरमा विकास, सूचना–प्रविधि, रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा नेपालले यहाँबाट ठूलो सहयोग तथा अनुभव आदानप्रदान हुने वातावरण बन्ने छ ।

दूतावास भएमा पोर्चुगिजलाई नेपाल भ्रमण गराउन सहज हुने, नेपालबाट पोर्चुगलमा मौसमी कामका लागि श्रमिक ल्याउन सकिने, भाषा, साहित्य, संस्कृति, कला र सिनेमा क्षेत्रमा पनि सहयोग आदानप्रदान गर्न सकिने भएकाले यहाँका नेपालीले सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराइरहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित