युरोपनेपाली खबर, पोर्चुगल । संखुवासभा जिल्लाको सिलिङ्चोङ गाउँपालिकामा गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानी रहेको ४० मेगावाटको माथिल्लो 'संखुवा खोला जलविद्युत आयोजना' को काम अघि बढेको छ। यो आयोजना चलाउने कम्पनी 'ह्याप्पी इनर्जी' हो।
'ह्याप्पी इनर्जी' का सञ्चालक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष बद्री केसीका अनुसार आयोजनाको सम्पूर्ण काम चार वर्षमा पूरा गर्ने लक्ष्य छ। तर साढे तीन वर्षमै पूरा हुने विश्वास छ।
आयोजनाका लागि स्रोत जुटिसकेको र तीव्र गतिमा काम अघि बढ्ने केसीले बताए।
आयोजनामा उद्यमीको २५ प्रतिशत स्वपुजी र बैंकहरूले ७५ प्रतिशत ऋण लगानी गर्नेछन्। बैंकहरूसँग भएको लगानी सम्झौता अनुसार दुई अर्ब ६ करोड रूपैयाँ उद्यमीको र ६ अर्ब २० करोड रूपैयाँ बैंकको हुनेछ।
उद्यमीमध्ये गैरआवासीय नेपाली र नेपालभित्रका उद्यमीको लगानी आधाआधा हुनेछ।
सबैभन्दा धेरै कृषि विकास बैंकले एक अर्ब ५० करोड रूपैयाँ ऋण लगानी गर्नेछ। सिद्धार्थ बैंकले एक अर्ब ४५ करोड र प्रभु बैंकले एक अर्ब रूपैयाँ ऋण लगानी गर्नेछन्। सिटिजन बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंक प्रत्येकले ७५ करोड रूपैयाँ ऋण लगानी गर्नेछन्।
यो आयोजनाको प्रक्रिया २०७६ सालमै सुरू भए पनि निर्माणको अन्तिम तयारी हालै मात्र भएको हो। यो आयोजनाले संखुवासभाको सिलिचोक गाउँपालिकाका वडा नम्बर २ र ३ का केही भूभाग ओगट्नेछ। कम्पनीका अध्यक्ष इन्द्र विष्ट छन्।
'यो हाइड्रोपावरको कुरा २०७६ सालमा सुरू भएको हो। कम्पनीका अध्यक्षले सम्भावना भनेर अध्ययन गरेपछि हामी पनि त्यहाँ पुगेका हौं,' केसीले भने, 'तीन–चार दिन हिँडेर जानुपर्थ्यो। पानी र खोलाको प्रकृति सबै अध्ययन गरेपछि हामी लगानीका लागि अघि बढेका हौं।'
उनका अनुसार हिमालबाट पग्लेर आएको पानी हाइड्रोपावरका लागि बढी उपयोगी हुने र हिउँदमा पनि समस्या नहुने निष्कर्ष आएपछि प्रारम्भिक अध्ययन गरेर लाइसेन्स लिने प्रक्रिया अगाडि बढेको थियो।
शीतलपाटीमा प्रसारण लाइन बन्ने पक्का भएपछि आयोजना निर्माणको टुंगो लागेको हो। नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता पनि भइसकेको छ।
'२०७६ देखि अहिलेसम्म आइपुग्दा हामीले सबै प्रारम्भिक काम पूरा गरेका छौं। आयोजना स्थल पुग्ने २६ किलोमिटर बाटो बनाइसकेका छौं,' केसी भन्छन्, 'स्थानीय समुदायका लागि स्वास्थ्य चौकी र विद्यालय बनाएका छौं। आयोजनाको सुरक्षार्थ सेनाको गुल्म भवन अन्तिम चरणमा पुगेको छ।'
निर्माण काम अघि बढाउन दुई कम्पनीसँग ठेक्काको तयारी भएको छ। सुरूङ निर्माण एउटा कम्पनीले र अन्य पूर्वाधार निर्माण अर्को कम्पनीले गर्नेछन्। सुरूङको लम्बाइ ३६ सय मिटर हुनेछ। विद्युत–गृहबाट सबस्टेसन रहेको शीतलपाटीसम्म १९ किलोमिटर प्रसारण लाइन आवश्यक पर्छ।
केसीका अनुसार हाइड्रो पावरका लागि चाहिने प्राविधिक सामग्री इटाली, जर्मनी वा अस्ट्रियामध्ये कुनै एक देशबाट ल्याउन गृहकार्य भइरहेको छ। निर्माण काममा चाहिने विष्फोटक पदार्थ ल्याउने र विष्फोट गराउने कामको जिम्मा नेपाली सेनाले पाएको छ।
'अहिलेसम्म भएको काम आयोजनाको कुल कामको १० प्रतिशत मात्रै हो तर प्रक्रियागत र आयोजना निर्माणअघिका पूर्वाधारको सबै काम सकिएको छ। अब गति लिन्छ,' उनले भने।
आयोजनाको बाटोले स्थानीय किसानलाई सहज भएको छ। जडिबुटी र कृषि सामग्री ओसारपसार तथा व्यवसायका लागि आयोजनाको बाटो किसानले प्रयोग गर्न पाएका छन्। मकालु हिमालतिर जाने बाटोसमेत यही हो। यसले पर्यटकलाई समेत सहज हुनेछ।
आगामी चार वर्षसम्ममा करिब चार सय जनाले प्रत्यक्ष रोजगारी पाउने केसीले बताए। रोजगारीका लागि स्थानीयवासी प्राथमिकतामा पर्नेछन्।
गैरआवासीय नेपालीले लगानी गर्न हाइड्रोपावर अनुकूल क्षेत्र हो भन्ने केसीको ठहर छ। देशभरि ६ सय मेगावाटमा एनआरएनको प्रत्यक्ष–अप्रत्यक्ष लगानी रहेको पनि उनले बताए।
'हाइड्रोपावरमा सुरूको पाँच वर्ष जोखिमपूर्ण हुन्छ। त्यसपछि ३० वर्षसम्म आम्दानी लिन पाइन्छ,' केसीले भने, 'मैले सन् २०१२ मा साढे दुई मेगावटको सयपत्री हाइड्रोपावर बनाएँ। म्याग्दीमा २१ मेगावाटको हाइड्रोपावरको काम आउने चैतमा सकिन्छ।'
FOUNDER/CHIEF EDITOR :