लिस्वन । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) पोर्चुगलको आयोजनामा लिस्वनस्थित बेलाभिस्ता पार्कमा गत आईतवार देउसी-भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रवासमा नेपाली संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उदेश्यका साथ आयोजना गरिएको बृहत कार्यक्रममा पोर्चुगलका नेपालीको बाक्लो उपस्थिति रहेको थियो भने पोर्चुगल, इटाली, स्पेन, जर्मनी, बेलायतलगायतका विदेशी नागरिकको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली खानालाई प्रवर्द्धन गर्ने उदेश्यका साथ सेलरोटी, आलु साँधेको अचार, कुखुरा र खसीका परिकारलगायत अन्य तिहारजन्य खानेकुरा आयोजकले निशुल्क व्यवस्था गरेको जानकारी इन्स पोर्चुगलका अध्यक्ष कमल खड्काले बताउनुभयो ।
आयोजक संस्थाका महासचिव हरिशरण परियारले संचालन गरेको कार्यक्रममा पोर्चुगलस्थित चर्चित नेपाली कलाकार दीपा राई, रौनक थापा, बुद्ध घिसिङ, सुवास पुनमगरको टोलीले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए भने उपस्थित सबैले सामुहिकरुपमा देउसी-भैलो खेलेका थिए । त्यस्तै अन्तर्राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष श्याम सुवेदी र सचिव सोम अनुराग बस्नेतले सिर्जना वाचनसमेत गर्नुभएको थियो ।
कार्यक्रममा इन्स अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष अर्जुन घिमिरेले संसारभरका नेपालीलाई जोड्दै नेपालको हित र विकासमा योगदान गर्ने गरि एउटा महाअभियान लिएर इन्स संसारभर फैलिरहेको बताउनु भयो । उहाँले संसारका विभिन्न देशमा रहेका उच्च शिक्षा र सीप हासिल गरेका नेपालीहरू इन्स मार्फत योगदान गर्न तत्पर रहेको समेत बताउनु भयो ।
त्यस्तै अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष डा. स्वामी कृष्णले कमल खड्काको नेतृत्वमा रहेको टिमले पोर्चुगलमा कार्यक्रम आयोजना गरेर असाध्यै राम्रो काम गरेको भनेर प्रशंसा गर्दै आप्रवासमा नेपाली कलाकार र सर्जकहरूलाई पुरस्कृत गर्दै नेपालीलाई आपसमा जोड्न यस्ता कार्यक्रम निरन्तर गरिरहनु पर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरी महासचिव अर्जुन श्रीले ‘जहिल्यै पनि नेपालका लागि जहाँ पनि नेपालीका लागि’ भन्ने मुलमन्त्रका साथ संसारभरका नेपालीलाई भाषा, साहित्य, संस्कृति मार्फत आपसमा जोड्दै नेपालीले संसारभर हासिल गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको हित र विकासमा उपयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष राजकुमार थापा, एपिवान टेलिभिजनका युरोप प्रतिनिधि बासु सत्याल, ग्यालेल्सी फोर केका पत्रकार यादव देवकोटा, आध्यात्मिक गुरु योगी आर्य र श्री ओम, समाजसेवी, नागरिक समाजका अगुवा जयभद्र सापकोटा, टेक थापामगर, स्वरसिंङ लामाले कार्यक्रम आयोजना गर्नु अत्यन्तै प्रसंसनीय रहेको भन्दै आगामी दिन अझ चुस्त व्यवस्थापनका साथ भव्य कार्यक्रम गर्न शुभकामना व्यक्त गर्नु भएको थियो ।
FOUNDER/CHIEF EDITOR :