डेनमार्कको कोपनहेगन महानगर निर्वाचनमा १ मतले हरि न्यौपाने पराजित, पुनः मतगणनाको माग गर्दै निवेदन

डेनमार्कको कोपनहेगन महानगर निर्वाचनमा १ मतले हरि न्यौपाने पराजित, पुनः मतगणनाको माग गर्दै निवेदन
युरोपनेपाली खबर २०७८ मंसीर ३ शुक्रबार, 19-11-2021


कोपनहेगन महानगरपालिका (कम्युन) को निर्वाचनमा नेपाली उम्मेदवार हरि न्यौपाने १ मतले पराजित भएपछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएका छन्। 

निर्वाचनको संवैधानिक व्यवस्था अनुसार १-२ भोटले निर्वाचनमा हारजित भएको अवस्थामा पुनरावलोकनको माग गर्न पाइन्छ।

मंगलबार डेनमार्कमा भएको स्थानीय निर्वाचनको नतिजा बिहिबार बिहान सार्वजनिक भएको हो। नतिजा अनुसार महानगर परिषदको ‘स्थानीय नेता’ पदमा नेपाली समुदायबाट उम्मेदवार बनेका न्यौपाले  ९०४ मत प्राप्त गर्दा उनीभन्दा १ मत बढी पाएर मार्कुस भेस्टागर विजयी भएका छन्। 

न्यौपानेले मत अपेक्षाभन्दा कम आएकोले प्रष्ट हुन पुनः मतगणनाको लागि निर्वाचन समितिलाई निवेदन दिएको बताए। ‘थोरै मतको अन्तरले हार जित भयो भने रिकाउण्टको माग गर्ने संवैधानिक अधिकार छ निर्वाचन समितिलाई निवेदन दिइसकेको छु,’ उनले भने। निर्वाचन समितिले छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।

न्यौपानेका निर्वाचन समितिका संयोजक शिव कार्कीले डेनमार्कका नेपाली समुदायले सकेको सहयोग गर्दा पनि चित्तबुझ्दो नतिजा नआउँदा दु:खी भएको भन्दै पुनः मतगणनाको माग गरिएको बताए। ‘मत परिणाम कुनै पनि हालतमा स्वीकार्य छैन, पुनः मतगणनाबाट धेरै तथ्य थाहा हुनेछ,’ कार्कीले भने। 

स्थानीय निर्वाचनमा डेनमार्कको नागरिक नभए पनि वैधानिक रूपमा रहेकाले उम्मेदवार बन्न र मतदान गर्न पाउने व्यवस्था छ। सोही व्यवस्था अनुसार कोपनहेगनमा रहेका नेपालीले अभियानकै रूपमा न्यौपानेलाई जिताउन जोडका साथ लागेका थिए। तर, उनको पक्षमा नतिजा नआउँदा दु:खी भएका छन्। 

न्यौपानेका निर्वाचन समितिका म्यानेजर राजेन्द्र पौडेलले मतदान केन्द्रबाट जानकारी दिने बेलामा १/२ मतपत्र हराएको भनिएको, विभिन्न बहाना गरिएको तथा धेरै ढिला नतिजा आउनुले पनि शंका उब्जाएकोले सत्य तथ्य बुझ्न निर्वाचन समितिलाई गुहारिएको जानकारी दिए। 

डेनमार्कमा समानुपातिक र प्रत्यक्ष गरि मिश्रित निवार्चन प्रणाली छ। मतपत्रमा पार्टी र मन परेको उम्मेदवारलाई मत दिन पाइन्छ। 

कुल खसेको मतमा जति प्रतिशत मत पार्टीले पाउँछ त्यसै अनुपातका आधारमा पार्टी बीचमा सिट बाँडिन्छ । र, उम्मेदवार जसले धेरै मत लिएको छ ऊ विजयी हुन्छ । 

कोपनहेगन महानगरपालिकाका ५५ सदस्यीय नगरपरिषद छ। जसअनुसार न्यौपाने उम्मेदवार रहेको सत्तारूढ पार्टी सोसियल डेमोक्र्याट कोपनहेगनमा अघिल्लो पटकको तुलनामा १० प्रतिशतभन्दा कम मत प्राप्त गरि दोस्रो ठूलो पार्टीमा झरेको छ । 

खसेको जम्मा ३ लाख १२ हजार ६ सय ९१ मतमध्ये १७.२ प्रतिशत मात्रै सोसियल डेमोक्र्याटले पाएको छ। जसअनुसार उसले १० सिट पाएको छ। र, पार्टीका प्रत्यक्ष उम्मेदवारमध्ये जसले बढी मत प्राप्त गरेको छ ऊ नै विजयी हुने व्यवस्था अनुसार न्यौपानेले भन्दा १ मत बढ़ी पाएका मार्कुस १० जनाभित्र परेर विजेता घोषित भएका छन् । 

बामपन्थी धारको रेड-ग्रीन पार्टी कोपनहेगनमा पहिलो पार्टीको रूपमा विजयी हुँदै १५ सिट पाएको छ। उसले खसेको मतमध्ये २४.६ प्रतिशत प्राप्त गरेको हो। आप्रावासीमैत्री, वातावरण र मजदुरको पक्षमा उसले उठाएका मुद्दाका कारण सहरी क्षेत्रमा यो पार्टी लोकप्रिय बन्दै गएको छ । 

तेस्रो ठूलो पार्टी बनेको कन्जरभेटिभले करिब १३.१ प्रतिशत मत जित्दै ८ सिट पक्का गरेको छ । 

दोस्रो ठूलो पार्टी बने पनि कोपनहेगनको मुख्य मेयरमा भने सोसियल डेमोक्र्याटकी उम्मेदवार सोफी हर्सटर्प एन्डारसन हुने बताइएको छ। सोसियल डेमोक्र्याट, रेड-ग्रीन लगायतका पार्टीको रातो गठबन्धनले उनलाई पहिला नै घोषणा गरेको थियो। अन्य ५ मेयरमा रेड-ग्रीन र अन्य पार्टीका बन्नेछन् । 

सत्तारुढ सोसियल डेमोक्र्याट राजधानी कोपनहेगनमा दोस्रो ठूलो दलमा झरे पनि देशभरमा भने पहिलो पार्टी बनेको छ। डेनमार्कका ९८ नगरपालिका काउन्सिल र ५ रिजनल काउन्सिलमा २८.५ प्रतिशत मत जित्दै सोसियल डेमोक्र्याटले ७ सय ५६ सिट जितेका हो। २०१७ को तुलनामा भने उसले यसपालि ८६ सिट गुमाएको छ। कन्जरभेटिभले १७८ सिट थप्दै ४०३ पुर्‍याएको छ।

-महेशकुमार खाती, कोपनहेगन, सेतोपाटी ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित