यी हुन् बेलायतको नेपाली समुदायमा छनौट भएका चर्चित १० व्यक्तित्वहरु

यी हुन् बेलायतको नेपाली समुदायमा छनौट भएका चर्चित १० व्यक्तित्वहरु
www.europenepalikhabar.com २०८० जेठ ८ गते सोमबार, 22-05-2023


युरोप । सगरमाथा आरोही हरि बुढा मगर बेलायतमा चर्चित व्यक्तिको रुपमा सम्मानित भएका छन् । घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल, नेपाल ब्रिटेन डटकम, को १६ औं वार्षिकोत्सव भव्य समारोहबीच उनलाई २०२३ का चर्चित व्यक्तित्वको पहिलो सूचिमा राखिएको हो ।

आइतबार स्टानवेल भिलेज हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत, ज्ञानचन्द्र आचार्य, ले नेपाल बाहिर रहेर पनि नेपालको उन्नतिमा सघाई रहेको पहिलो पुस्ताको योगदान महत्वपूर्ण रहेको बताए। उनले विश्वव्यापीकरणको आजको युगमा हामी सबै एकअर्कासंग सम्बन्धित छौ भन्दै अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले नेपालमा बसेका नेपाली र बेलायतमा बसेका नेपाली र ब्रिटिशहरुलाई सुसूचित गर्ने पत्रकारिताको भूमिका अवसर र चुनौती पनि रहेको बताए। तपाईंहरुको आर्थिक मात्रै हैन, सीप, शिक्षा, नेटवर्क र अनुभव पनि योगदान हो। तपाईंहरुको अनुभव, सीप, नेटवर्क र पहुँचपनि महत्वपूर्ण छ,’ उनले भने।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले बेलायतको समाजलाई सुसूचित गर्ने काम समाजसेवा र आफ्नो क्षमताको प्रदर्शन पनि भएको बताए। ‘नेपाललाई केही दिन नेपालमै बस्नु पर्दैन, यहाँ बसेर पनि सेवा गर्न सकिन्छ । आर्थिक मात्रै हैन बौद्धिक लगानी गर्न सकिन्छ, सीप प्रविधि लगानी गर्न सकिन्छ, थुप्रै ठाउं छ,’ उनले भने। एनआरएनएका एकजना संस्थापक रहेका प्रा सुवेदीले २०१५ देखि आफु सक्रिय नरहे पनि आफुले जन्माएको संस्थाको माया लाग्ने बताए। कम्बोडिया, इराक र इजिप्टको उदाहरण दिंदै उनले मुलुक अगाडि बढी रहेको छ। त्यसैले निराश नहुन र आशा वादी हुन सुझाव दिए।

एनआरएनए आइसीसीका उपाध्यक्ष डा हेमराज शर्माले बाहिर बस्ने नेपालीहरुलाई मताधिकार दिने, गैर आवासीय नेपाली नागरिकता, सम्पत्तिको सुरक्षा बारे गहन छलफल भै रहेको बताए।

एनआरएनए जस्तो ठूलो संस्थामा टुटफुट भै रहन्छ, गाली खाइन्छ, नआत्तिनु होला, नेपाली समाजको रेफ्लेक्सन हो। एनआरएनलाई एक बनाउं, सबै अट्ने संस्था बनाउँ। धेरै सदस्य बन्नोस। नेपालमा घन्टी बजाएको जस्तै एनआरएनमा पनि घन्टी बजाउनु भयो भने मात्रै एनआरएन बच्छ, उनले भने।

सो अवसरमा सन् २०२३ का चर्चित व्यक्तित्वहरु बीबीसी शनिबारमात्रै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका भूतपूर्व गोर्खा सैनिक (डबल एम्पुटी अबोभ नी) हरि बुढा मगर, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ, कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा, मास्टरसेफ विजेता सन्तोष साह, बेलायतको टोटेनह्याम फुटबल क्लबसंग आवद्ध खेलाडी अस्मिता आले, चर्चित नेपाली चित्रकार गोविन्द साह ‘आजाद,’ ब्रिटिश आर्मीका सेवानिवृत्त मेजर जुदबहादुर गुरुङ, बेलायतको किइल युनिभर्सिटीमा जनस्वास्थ्य विषयकी प्राध्यापक डा. प्रियंवदा पौड्याल, म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) युकेका अध्यक्ष, भूतपूर्व गोर्खा सैनिक, कमल पुर्जा, एवम कलाकार तथा नायक ध्रुर्व दत्तलाई सम्मान गरिएको थियो।

त्यस्तै बेलायतमा कार्यरत सामाजिक संघ संस्थाहरुमध्येबाट नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) युकेको टिमलाई सम्मानित गरिएको थियो ।

उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको शुभकामना बीबीसी नेपाली सेवाकी पूर्व प्रस्तोता संगीता मरहट्टाले पढेर सुनाएकी थिइन् भने लन्डनस्थित नेपाली दूतावासकी उपप्रमुख श्रीमती रोशन खनाल, एनआरएनए उपमहासचिव राशरण सिमखडा, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ, एनआरएनए युकेका अध्यक्ष सुनिल खड्का, नेपाली जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, बीबीसी नेपाली सेवाका पूर्व संचारकर्मीद्वय सुमन खरेल तथा भगीरथ योगी, लगायतले शुभकामना दिएका थिए । त्यस्तै सुजन पराजुली तथा विकी सापकोटाले सांगीतिक प्रस्तुति दिएका थिए भने बिमला बुढाथोकीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

नेपाल ब्रिटेन डटकमका संस्थापक अध्यक्ष चिरन्जीवी ढकालको सभापतित्वमा आयोजित समारोहमा सल्लाहकार कृष्ण तिमल्सेनाले धन्यवाद ज्ञापन गरेका थिए भने केक काटेर वार्षिकोत्सव मनाइयो।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित