युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल । नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च, पोर्चुगलको सातौँ अधिवेशन आगामी ३१ अगस्ट २०२६, सोमबार राजधानी लिस्बनमा हुने भएको छ ।
अधिवेशनलाई व्यवस्थित, भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरी जिम्मेवारी तोकिएको छ । अधिवेशनका लागि राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयारीदेखि व्यवस्थापन, निर्वाचन, आर्थिक, प्रचारप्रसार, सांस्कृतिक तथा स्वयंसेवक परिचालनसम्मका कार्यका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो ।
अधिवेशनका लागि राजनीतिक तथा सांगठनिक प्रतिवेदन समितिको संयोजकमा दीपक खत्री रहेका छन्। त्यस्तै अतिथि सत्कार तथा व्यवस्थापन समितिको संयोजकमा राजकुमार थापा, निर्वाचन समितिको संयोजकमा राजाराम लामिछाने र आर्थिक समितिको संयोजकमा नवीनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी प्रचारप्रसार समितिको संयोजकमा गणेश थापा, सांस्कृतिक समितिको संयोजकमा भरतप्रकाश घर्तीमगर तथा स्वयंसेवक समितिको संयोजकमा पुरण घर्तीमगर रहेका छन् ।
प्रवासी नेपाली मञ्च पोर्चुगलले अधिवेशनमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउँदै पोर्चुगलमा रहेका नेपाली समुदायका साझा सरोकार तथा समस्यालाई प्रभावकारी रूपमा उठाउने उद्देश्य लिएको जनाएको छ।
अधिवेशनमा पोर्चुगलमा रहेका प्रवासी नेपाली मञ्चका नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुक र पोर्चुगलस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको भावी राजनीतिक तथा सांगठनिक दिशासमेत तय गर्नेछ ।
अधिवेशनलाई सफल बनाउन गठित विभिन्न समितिहरूले आआफ्नो जिम्मेवारीअनुसार तयारीलाई तीव्रता दिएका छन् ।
FOUNDER/CHIEF EDITOR :